काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आगामी निर्वाचनमा महासचिव पदका उम्मेदवार भवनाथ हुमागाईं संघभित्र अनुभव, निरन्तरता र सहकार्यको नेतृत्वका रूपमा प्रस्तुत भइरहेका छन्। हाल ईक्यानको केन्द्रीय समितिमा प्रथम सचिवको जिम्मेवारी सम्हाल्दै आएका हुमागाईंले सचिवको भूमिकाबाट संघमा पुर्याएको योगदानका आधारमा महासचिव पदका लागि दावेदारी दिएका हुन्।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउने अभियानमा उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन्। प्रत्यक्ष व्यवसायिक अनुभव र संगठनात्मक भूमिकाको संयोजन नै उनको नेतृत्व यात्राको मुख्य विशेषता मानिन्छ।
सचिवका रूपमा उल्लेखनीय योगदान
हुमागाईं ईक्यानमा एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा काम गरिसकेका छन् भने हाल प्रथम सचिवसँगै संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजकको जिम्मेवारी पनि निर्वाह गर्दै आएका छन्। संघको आन्तरिक संरचना मजबुत बनाउने, कार्यप्रणाली व्यवस्थित गर्ने र सदस्य-केन्द्रित सोच विकास गर्ने कार्यमा उनको भूमिका उल्लेखनीय मानिन्छ।
सचिवका रूपमा उनले संघभित्र संवाद, समन्वय र निर्णय कार्यान्वयनलाई प्राथमिकता दिएको बताइन्छ। कागजी निर्णयभन्दा व्यवहारिक कार्यान्वयनमा जोड दिने उनको शैलीले संघलाई गतिशील बनाउने प्रयास देखिन्छ।
सदस्यहरूमाझ मिलनसार र सहयोगी छवि
भवनाथ हुमागाईंलाई ईक्यान सदस्यहरूमाझ मिलनसार, सहयोगी र पहुँचयोग्य व्यक्तित्वका रूपमा चिनिन्छ। केन्द्र र शाखाबीचको दूरी घटाउने, सदस्यका समस्या सुन्ने र समाधान खोज्ने उनको सक्रियताले संगठनभित्र विश्वासको वातावरण निर्माण भएको बताइन्छ।
शैक्षिक परामर्श व्यवसाय नवीकरण, शाखागत समन्वय र सदस्य सुरक्षा जस्ता विषयमा उनले लिएको अग्रसरताले सदस्यहरूबीच उनको स्वीकार्यता बढाएको देखिन्छ।
संगठन विस्तार र संस्थागत सुदृढीकरण
हुमागाईंको कार्यकालमा संघको भौगोलिक पहुँच विस्तार, नयाँ शाखा स्थापना र समन्वय संरचना विकासमा जोड दिइएको छ। सदस्यता विस्तार र आजीवन सदस्यता प्रवर्द्धनमार्फत संस्थाको दीर्घकालीन स्थायित्वमा योगदान पुर्याउने प्रयास पनि उनको नेतृत्व शैलीको हिस्सा मानिन्छ।
संस्थालाई केवल पदाधिकारी–केन्द्रित नभई सदस्य–केन्द्रित र प्रणालीमा आधारित बनाउने उनको दृष्टिकोण संघको भविष्यसँग जोडिएको विषयका रूपमा हेरिन्छ।
महासचिवका रूपमा प्रस्तुत दृष्टिकोण
महासचिव पदका लागि उम्मेदवारी दिंदै हुमागाईंले केन्द्र–शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने, सरकार तथा सरोकारवाला निकायसँग संघको हैसियत मजबुत बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सबल संस्था निर्माण गर्ने, नयाँ तथा युवा शैक्षिक परामर्श उद्यमीलाई अवसर र नेतृत्वमा समेट्ने तथा बहु–गन्तव्य विद्यार्थी आवागमनका क्षेत्रमा संघको भूमिका सुदृढ गर्ने उनको कार्यदिशा रहेको छ।
अनुभव, निरन्तरता र सहकार्यमा आधारित नेतृत्वको दाबी गर्दै भवनाथ हुमागाईंले ईक्यानलाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्था बनाउने लक्ष्यसहित महासचिव पदमा उम्मेदवारी दिएका छन्।