काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आगामी निर्वाचन नजिकिँदै जाँदा संगठनभित्र चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यही पुस २८ गते हुने २०औँ साधारण सभा अन्तर्गतको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी दिपकराज भुषाल र लक्ष्मण पौडेल ‘एन्ड्रयू’ बीच प्रतिस्पर्धा चरम अवस्थामा पुगेको देखिन्छ। दुई अनुभवी परामर्श व्यवसायीबीचको यो भिडन्तलाई ईक्यानको भावी दिशा निर्धारण गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
ईक्यानको नेतृत्वका लागि मैदानमा उत्रिएका दुवै उम्मेदवार शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। वर्तमान महासचिव दिपकराज भुषाल करिब डेढ दशकदेखि ईक्यानका विभिन्न जिम्मेवारीमा रहेर संगठन निर्माण, नीतिगत समन्वय र सदस्य हितका विषयमा काम गर्दै आएका अनुभवी नेतृत्व हुन्। अर्कातर्फ, हाल उपाध्यक्षको भूमिकामा रहेका लक्ष्मण पौडेल ‘एन्ड्रयू’ पनि परामर्श व्यवसायमा स्थापित नामका रूपमा चिनिन्छन् र व्यवसायिक स्वतन्त्रता तथा प्रतिस्पर्धात्मक वातावरणको पक्षमा आवाज उठाउँदै आएका छन्।
चुनावी एजेण्डाको कुरा गर्दा, भुषालले संगठनलाई संस्थागत, प्रणालीमा आधारित र राज्यसँग सहकार्य गर्ने दिशामा अगाडि बढाउने स्पष्ट कार्यदिशा प्रस्तुत गरेका छन्। एकद्वार दर्ता प्रणाली, तालिम संरचना, अनुसन्धान कक्ष, शाखा सशक्तीकरण र अन्तर्राष्ट्रिय गन्तव्यसम्बन्धी रणनीतिक पहल उनका प्रमुख एजेण्डामा छन्। यी योजनाले ईक्यानलाई केवल व्यवसायीहरूको संगठन नभई नीति निर्माणमा योगदान दिने जिम्मेवार संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको देखिन्छ।
पौडेलले भने सदस्यहरूको अधिकार, व्यवसायिक स्वतन्त्रता र बजार प्रतिस्पर्धालाई प्राथमिकतामा राख्दै संगठनभित्र नयाँ ऊर्जा र नेतृत्व शैली आवश्यक रहेको तर्क अघि सारेका छन्। उनले ईक्यानलाई अझ खुला, गतिशील र सदस्य–मैत्री बनाउने प्रतिबद्धता जनाउँदै आएका छन्।
ईक्यान अगाडि अहिले धेरै चुनौतीहरू छन्-ग्रे मार्केट कन्सल्टेन्सीको समस्या, बदलिँदो अन्तर्राष्ट्रिय भिसा नीति, विद्यार्थी तथा अभिभावकको बढ्दो अपेक्षा, र राज्यसँग संस्थागत सम्बन्धको अभाव। यस्तो अवस्थामा आगामी नेतृत्वले संगठनलाई केवल आन्तरिक व्यवस्थापनमा सीमित नराखी, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा प्रभावकारी बनाउने जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।
करिब ७०० भन्दा बढी सदस्य संस्था आवद्ध ईक्यानको यो निर्वाचन केवल पदाधिकारी चयनको प्रक्रिया मात्र नभई, शैक्षिक परामर्श व्यवसाय कुन दिशामा अघि बढ्ने भन्ने निर्णयको घडी पनि हो। अनुभव, निरन्तरता र स्पष्ट कार्ययोजनाका कारण भुषालको दाबी बलियो देखिए पनि पौडेलको चुनौतीले निर्वाचनलाई रोचक र प्रतिस्पर्धात्मक बनाएको छ। अन्ततः मतदाताको निर्णयले ईक्यानको आगामी यात्राको खाका कोर्नेछ।