काठमाडौं । यही पुस २८ गतेका लागि नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै संघभित्र चुनावी गतिविधि तीव्र बनेको छ। वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आगामी कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेसँगै ईक्यानमा चुनावी माहोल स्पष्ट देखिन थालेको छ।
यसैक्रममा हाल ईक्यान कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेकी साधना पुडासैनीले आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छन्।
“सही व्यक्ति, सही स्थान–भरोसायोग्य कोषाध्यक्ष” भन्ने नारासहित उम्मेदवारी सार्वजनिक गरेकी पुडासैनीले संघको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुतीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। कोषाध्यक्ष पदमार्फत ईक्यानको आर्थिक व्यवस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उनको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै पुडासैनीले अनुभव, जिम्मेवारीबोध र स्पष्ट दृष्टिकोणका साथ कोष व्यवस्थापनको दायित्व निर्वाह गर्ने दृढ संकल्प व्यक्त गरेकी छन्। शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न रहँदै एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा काम गरेको अनुभवलाई आधार बनाउँदै उनले संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व र आर्थिक अनुशासन कायम राख्न आफू सक्षम रहेको उल्लेख गरेकी छन्।
उनले ईक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सुदृढ संस्थाका रूपमा अगाडि बढाउन सम्पूर्ण कार्यसमिति तथा आम सदस्यसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्। साथै, आगामी कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण ईक्यान सदस्यलाई आफूलाई विश्वास गरी साथ, सहयोग र अमूल्य मत प्रदान गर्न आग्रह गरेकी छन्।