काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी २०औँ वार्षिक साधारण सभा पुस २८ गते (सोमबार) निर्धारण भएको छ।
काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ८ बजेबाट साधारण सभा सुरु भई नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ। वर्तमान अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुई–वर्षे कार्यकाल सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचनको सरगर्मी तीव्र बनेको हो। साधारण सभामा आर्थिक तथा वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रमुख कार्यक्रम नै नयाँ कार्यसमिति चयन हुनेछ।
अध्यक्ष पदका मुख्य उम्मेदवारहरू
इक्यानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा दुई जना अनुभवी उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। वर्तमान महासचिव दिपकराज भुषाल र प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
करिब १५ वर्षदेखि ईक्यानका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका भुषाल संघभित्र अत्यन्त परिचित नाम हुन् भने शैक्षिक परामर्श व्यवसायमा दशकौंदेखि क्रियाशील रहेका पौडेल पनि अनुभवी व्यवसायी नेता हुन्। दुबै उम्मेदवारले सामाजिक सञ्जाल र आफ्ना समर्थकमाझ उम्मेदवारी घोषणा गर्दै संघको नेतृत्वमा आएपछि परामर्श व्यवसायीहरू र विद्यार्थीहितमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
समर्थन र समूहगत ध्रुवीकरण
इक्यानको यो निर्वाचनमा उम्मेदवारहरूलाई आ–आफ्नो समूह र पूर्ववर्ती नेतृत्वको साथ रहेको छ। भुषाल नेकपा निकट परामर्श व्यवसायीहरूको साझा उम्मेदवारका रूपमा देखिएका छन् र उनलाई संघका पूर्व अध्यक्ष प्रकाश पाण्डे लगायत ईक्यानका प्रभावशाली व्यक्तिहरूको समर्थन छ। त्यस्तै, पौडेल नेपाली कांग्रेस निकट व्यवसायीहरूको तर्फबाट साझा उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।
यसरी राजनीतिक निकटताका आधारमा दुई प्यानलमा विभाजन भई चुनावी प्रतिस्पर्धा हुन लागेको छ। गत कार्यकालमा पनि दुई फरक समूहबीच प्रतिस्पर्धा भएकोमा शेषराज भट्टराई नेतृत्वको समूह विजयी भएको थियो, र सोही समूहका भुषाल महासचिव निर्वाचित भएका थिए जबकि पौडेल विपक्षी समूहबाट उपाध्यक्षमा जितेका थिए। अहिले दुबै समूहका प्रमुख प्रतिनिधिहरू नै अध्यक्ष पदमा आमनेसामने उभिएकाले निर्वाचनको माहोल अझ रोचक बनेको छ।
निर्वाचन प्रक्रिया र ईक्यानको महत्व
इक्यानको नयाँ कार्यसमितिका लागि अध्यक्षसहित १८ पदमा प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ, जसबाट २१ सदस्यीय कार्यसमिति (१९ निर्वाचित र २ मनोनित) चयन हुने व्यवस्था छ। देशभर करिब ६०० हाराहारी शैक्षिक परामर्श संस्थाहरू ईक्यानमा आवद्ध छन् र संस्थाका काठमाडौंसहित आठवटा शाखाहरू मार्फत निर्वाचनमा प्रतिनिधित्व हुने गर्दछ। विगत निर्वाचनहरूमा ईक्यानले प्रविधिमैत्री विधिको अपनाउदै विद्युतीय भोटिङ मेसिनबाट मतदान गरी एक घण्टाभित्र नतिजा सार्वजनिक गर्ने गरेको थियो।
यसपटक पनि पारदर्शी र छरितो मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चुन्न आवश्यक व्यवस्थाहरू मिलाइएका छन्। शिक्षा मन्त्रालय र सम्बन्धित निकायहरूसँग समन्वय गर्दै विद्यार्थी–अभिभावकको हितमा नीतिगत पहल गर्ने कुरामा दुबै उम्मेदवारले जोड दिएका छन्। संघका सदस्य व्यवसायीहरू र शैक्षिक परामर्शदाताहरूले नयाँ नेतृत्वले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको मार्गदर्शन र परामर्शलाई थप व्यवस्थित र विश्वासिलो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छन्।
स्थापनाको तीन दशक पार गरिसकेको ईक्यान देशभरिका शैक्षिक परामर्श व्यवसायीहरूको सबैभन्दा ठूलो र पुरानो छाता संगठन हो। आगामी निर्वाचनले चुनिने नेतृत्वले संघलाई अझ प्रभावकारी, पारदर्शी र सबल बनाउँदै विद्यार्थीको भविष्य र राष्ट्रको शैक्षिक छविका लागि सकारात्मक परिवर्तनको दिशा तय गर्ने विश्वास गरिएको छ।
नयाँ नेतृत्वको छनोटसँगै आगामी दुई वर्षका लागि शैक्षिक परामर्श व्यवसायीहरूको नेतृत्वको बागडोर कसले सम्हाल्ने भन्ने उत्सुकता चुलिएको छ। संघको निर्वाचन परिणामले विदेश अध्ययन परामर्श क्षेत्रको नीति तथा संचालनमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा सम्बन्धित सबै पक्षको चासो समेत बढेको छ।