काठमाडौँ । पृथ्वी अस्वाभाविक गतिमा तातिँदै गएको स्पष्ट वैज्ञानिक प्रमाणहरू सार्वजनिक भइरहेका छन्। विज्ञहरूका अनुसार, अहिले देखिएको तापक्रम वृद्धि पछिल्ला १० हजार वर्षमा नदेखिएको दरमा भइरहेको छ र यसको प्रमुख कारण मानवीय गतिविधि नै हो। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका अनुसार, सन् १९७० पछि भएका वैज्ञानिक अध्ययनहरूले जलवायु प्रणाली तातो हुँदै जानुमा मानव क्रियाकलापको निर्णायक भूमिका स्थापित गरिसकेको छ।
नासाले पनि स्याटेलाइट, आइस कोर, समुद्री तलछट र अन्य वैज्ञानिक उपकरणबाट संकलित तथ्याङ्कले जलवायु परिवर्तन भइरहेको पुष्टि गरेको जनाएको छ। १९औं शताब्दीको अन्त्यदेखि पृथ्वीको औसत तापक्रम करिब १ डिग्री सेल्सियस बढिसकेको छ, जसको अधिकांश वृद्धि पछिल्ला ४० वर्षमा भएको हो। सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षमध्ये एक बनेको छ। यसको असरस्वरूप महासागर न्यानो हुँदै गएका छन्, ग्रीनल्याण्ड र अन्टार्कटिकाका आइस शिट तीव्र रूपमा पग्लिरहेका छन् भने हिमालयसहित विश्वभरका हिमनदी साँघुरिँदै गएका छन्।
इसिमोडको एक अध्ययनअनुसार, तापक्रम यस्तै बढिरहे २१औं शताब्दीको अन्त्यसम्म हिमनदीहरू ८० प्रतिशतसम्म घट्न सक्ने खतरा छ। समुद्री सतह बढ्दै जानु, चरम मौसमी घटना बढ्नु र महासागरको अम्लता बढ्नु पनि जलवायु परिवर्तनका गम्भीर संकेत हुन्। नेपालमा समेत बेमौसमी वर्षा, खडेरी, बाढी–पहिरो जस्ता विपद् बढिरहेका छन्। वैज्ञानिकहरू भन्छन्–जलवायु परिवर्तन अब भविष्यको खतरा होइन, वर्तमानको यथार्थ हो। मानव गतिविधिमा तत्काल सुधार नगरे यसको असर अझ गम्भीर हुने चेतावनी उनीहरूको छ।