काठमाडौँ । बर्दीमै आफ्नो जागिरप्रति असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि नेपाल प्रहरीका जवान माधवप्रसाद भुगाईमाथि कारबाही हुने भएको छ । बाँकेमा कार्यरत भुगाईले टिकटकमा ३७ सेकेन्डको भिडिओ बनाई सरुवा-बढुवालाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।
भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका छन् । केहीले उनको अभिव्यक्तिको प्रशंसा गरेका छन् भने केहीले मादक पदार्थ सेवन गरी भिडिओ बनाएको आरोप लगाएका छन् । यस्तै, केहीले भिडिओमा भनिएको नाम र बर्दीमा उल्लेख भएको नाम फरक परेको भन्दै बर्दीको दुरुपयोग भएको आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले यस विषयमा आन्तरिक अनुसन्धान सुरु गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भुगाईमाथि प्रहरी नियमावली अनुसार आवश्यक कारबाही गरिनेछ ।
भुगाईले भिडिओमा प्रहरी सेवामा पावर हुनेलाई मात्र बढुवा र सरुवाको अवसर मिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । भुगाईमाथि कस्तो कारबाही हुनेछ भन्नेबारे खुलाइएको छैन ।