काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि टिकटकसम्म नेपाल प्रहरीका एक जवानको भिडियो भाइरल बनेको छ ।
अधिकांशजसोले ती युवकको प्रशंसा गर्दै भिडियो सार्वजनिक गरिरहेका छन् । ‘बल्ल नेपाल प्रहरीमा एउटा जिउँदो बहादुर सिपाहीको जन्म भएछ । सलाम छ’ जस्ता प्रतिक्रिया उक्त भिडियोमा जनाइरहेका छन्।
प्रहरीकै बर्दीमा बनाइएको ३७ सेकण्डको उक्त भिडियोमा ती प्रहरी जवानले पावर हुनेका लागि मात्रै प्रहरीको जागिर हो भन्ने पेचिलो प्रश्न उठाएका छन् ।
भिडियोमा भनिएको छ, ‘जय नेपाल सत्य सुरक्षा सुरक्षणम् ! यो नेपाल प्रहरीको जागिर के हो ? यत्तिका सम्म दुख: गर्ने अनि पावर हुनेले फ्याट् फ्याट्ट बढुवा हुने, फ्याट् फ्याट्ट जहाँ भन्यो त्यही सरुवा हुने । पावर नहुनेको चाहिँ केही पनि नहुने ? पावर नहुनेको केही पनि छैन ?’
त्यसपछि ती जवानले भिडियोमै आफ्नो परिचय समेत दिँदै आफ्नो जागिर खाने भए खाउ समेत भनेका छन् ।‘म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मैले चुस्तामै भिडियो बनाएको छु । मेरो जागिर खाने भए खाउ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाउ । हामीजस्तो गरिब दु: खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई ।’