खेमराज सापकोटा, इटहरी, १२ फागुन – प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारद्वारा अघि सारिएका योजना र जनताका वास्तविक आवश्यकताबीच तालमेल नभएको बताएका छन्।
सरकारले अगाडि सारेका पानीजहाज ल्याउने, भ्यूटावर बनाउने योजनालाई कटाक्ष गर्दै नेता थापाले भने, ‘सरकारले सुकुम्बासीका समस्या समाधान गर्दैन, अब अग्लो भ्यूटावर बनाउँछ अनि त्यसमाथि चढेर सुकुम्बासी बस्तीको रमिता हेर्छ।’
अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका लागि आईतबार इटहरी आएका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केसीभन्दा आक्रामक तवरले संघीयता गिराउन लागेको आरोप लगाए। आफ्नो सम्बोधनको अधिकांश समय सरकारको आलोचना गर्न खर्चिएका थापाले ओली नेतृत्वको सरकारले गर्नै नहुने काम गरिरहेको बताउँदै जनता दिक्क भएको बताए।
दुई तिहाई नेतृत्व हुँदा देशमा भीषण परिवर्तन हुनुपर्ने बताउँदै थापाले यस्तो अवस्थामा पनि सरकारले कुनै काम नगरेको बताए।
नेता थापाले सुनसरीलाई कांग्रेसको उर्वरभूमि रहेको बताउँदै निर्वाचनको हारले पार्टीमा केही समस्या देखिएपनि त्यस्तो नभएको बताए। ‘अहिले कांग्रेस केही खलबलिएको जस्तो देखिएको छ तर त्यसो हुनुहुँदैन। कांग्रेस एक जुट भएन भने देश नै खतरामा पर्छ,’ उनले भने।