काठमाडौँ, ८ फागुन – राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकाले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन।’
साक्षात्कारमा बोल्दै आचार्यले सरकार विकास र समृद्धि हासिल गर्ने काममा केन्द्रित हुन नसकेको आरोप लगाए। उनले भने, ‘सरकारको फोकस विकास र समृद्धिमा भन्दा पनि होली वाईनतिर छ, गुड गभर्नेन्समा भन्दा पनि पानीजहाज र मोनोरेलमा छ। सरकार फोकसमा छैन।’
उनले सरकारको राम्रो पक्ष भनेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संख्याको चूनौती नभएको सुनाए। आचार्यले थपे, ‘सरकार दुई तिहाई बहुमतको छ, प्रधानमन्त्री ओली अनच्यालेन्ज्ड छन्।’ आचार्यले मुलुकको पछिल्लो आर्थिक वृद्धिद्धर पनि ठीक नभएको सुनाए। उनले भने, ‘भ्रष्टाचार बढेको छ। आईसकेको हवाईजहाज थन्क्यिाएर राखिएको छ। मेलम्ची आयोजनालाई तुहाउन खोजिएको छ।’
उनले यो एक वर्षमा सरकारमात्रै नभएर कांग्रेस पनि असफल भएको दाबी गरे। उनले भने, ‘कांग्रेस चुकेकै हो। त्यही भएर चुनाव पनि हार्यो। कांग्रेस अहिले ट्रयापमा छ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण सरकारले राम्रो काम गर्न नसकेको पनि उनको आरोप थियो।
उनले भने, ‘प्रतिपक्ष त अहिले सडक र सदन कहीँ पनि छैन। ७ वटै प्रदेशमा कांग्रेस छैन। त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ। यस अर्थमा सरकारमात्रै होईन, कांग्रेस पनि असफल भएको हो।’
उनले सरकारसँग अहिले नै आशा मारिहाल्नु पर्ने अवस्था भने नआएको बताए। उनले भने, ‘यो सरकारसँग आशा गर्ने ठाउँ अझै छन्, यो सरकारसँग चार वर्ष समय छ, सरकारले सही दिशा लियो भने राम्रो गर्नसक्छ। प्रतिपक्षी दल कांग्रेस पनि जुर्मुराउनुपर्छ। प्रतिपक्षी जुर्मुरायो भने धेरै कुरा राम्रो हुन्छ।’
आचार्यले अहिलेसम्म नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई च्यालेन्ज नगरेको सुनाए। उनले भने, ‘बरु माधव नेपालले संसदमा सरकार कहाँ छ? भनेर भन्नुभयो, यो एक वर्षमा ओलीजीले देशको रोग के हो भनेर डाईग्नोसिस गर्नुपर्दथ्यो।’