काठमाडौँ, ८ फागुन – ३० वर्षपछि हुन लागेको विदेशमन्त्री स्तरीय नेपाल भ्रमणको प्रतिनिधित्व गर्दै अस्ट्रियाकी विदेशमन्त्री करिना किनाइसल नेपाल आउने भएकी छन्।
उनी १३ सदस्यीय सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौँ आउने भएकी हुन्।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणा स्वीकार गरेर आउन लागेको अस्ट्रियाली र नेपाली प्रतिनिधिमण्डलस्तरीय बैठक हुने कार्यक्रमसमेत रहेको छ।
दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछिन्।
उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन्। नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अस्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।(रासस)