काठमाडौँ, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरेका छन्। उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीले भने, ‘हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ। परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन्। हाम्रो जिम्मेवारी पनि बदलिएको छ।’
‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अहिले गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध तथा आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर छौँ’ उनले भने।
यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महीनामा लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ। लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौँ।’
सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ ।’
अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको, द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको, आफ्ना समस्या आफैँ हल गर्नसक्ने क्षमता प्रदर्शित भएको र अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्री ओलीले भनाइ छ ।
लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्बित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि निन्दनीय रहेको बताएका थिए।
नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन नसक्ने बताउँदै उहाँले यस्ता गतिविधि गर्नेविरुद्ध सरकार कडाइका साथ प्रस्तुत भई कानूनी कारवाही गर्ने दृढता व्यक्त गरे।
विसं २००७ फागुन ७ गते आजकै दिन नेपालीको एकताबद्ध सङ्घर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको गौरवमय दिनको सम्झना र सम्मानमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ । (रासस)