नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी महाधिवेशनमा सफलता प्राप्त गर्ने बताएका छन्।पार्टी सभापतिमा उम्मेदवारी दिएका कोइरालाले शेरबहादुर देउवासँग पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो धारणा राखेका हुन्।
“आजैदेखि कांग्रेसको रूपान्तरणमा लागिसकेको छु, तपाईंहरूको घर दैलोमा पुग्नेछु” डा. कोइरालाले भने, “आगामी महाधिवेशना सफलता प्राप्त गर्ने विश्वास लिएको छु।”
आफ्नो समूह भागबन्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने उनले बताए। मतदातालाई धन्यवाद दिंदै कोइरालाले भने, “तपाईंहरूले दिनु भएको माया र सम्मान कहिल्यै पनि बिर्सने छैन।”
कोइरालाले नवनिर्वाचित सभापति देउवालाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए। विगतमा जसरी कांग्रेस चल्यो फेरि त्यसरी नै चले निरन्तर खबरदारी गर्ने बताए।
बुधबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार, सभापतिमा निर्वाचित देउवाले २७३३ र कोइरालले १८५५ मत प्राप्त गरेका थिए।