श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको भैँसेपाटीमा पुननिर्मित भवनको उद्घाटन गर्दै उनले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्र देशभर विस्तार गर्न लागिएको बताए ।
मन्त्री श्रेष्ठले उत्पादनशील रोजगारीका अवसर अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दिगो आर्थिक विकासका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र स्थानीय तहसम्म विस्तार गरिने बताए । स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न तालिम केन्द्र विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न आधार खडा गर्ने बताए । वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ थियो । वैदेशिक रोजगारबाट आर्जन भएको सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले नयाँ भवन निर्माण भएपछि तालिम तथा विभिन्न किसिमका परीक्षा सञ्चालन गर्न सहज हुने बताए । विसं २०७२ मा गएको भूकम्पका कारण भत्केको केन्द्रको भवन हालै निर्माण सम्पन्न भएको हो । रु नौ करोड २४ लाख लागतमा निर्माण भएको पाँच तले भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले निर्माण गरेको हो ।