नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने मतदान सुरु भएको छ । जेष्ठ सदस्य कुलबहादुर गुरुङले सुरुमा मतदान गरेका छन् ।
बिहान ८ बजेबाट हुनेभएपनि ढिला गरी मतदान सुरु भएको हो । मतपत्र छाप्न ढिलाइ भएकाले मतदान ढिला गरी सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले बताए ।
सभापतिका लागि शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।
प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार प्रसार गरेर मागिरहेका छन् ।