काठमाडौँ, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र दिवस–२०७५ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिँदै छ। विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी र विशिष्ट अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनेछन्।
त्यस्तैं, शहीद दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले विगतको परम्परालाई परिवर्तन गरी यसवर्षबाट शान्तिका दूत परेवाजोडी सैनिक जवानलाई नै उडाउन लगाउने निर्णय गरेको जानकारी मूल समारोह आयोजक समितिले दिएको छ।
वीर शहीदहरुप्रतिको सम्मानमा बिहान सेनाले बिगुल (रिभ्याली) बजाउने, तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका सचिव प्रेम राईले बताए। प्रजातन्त्र प्राप्तिका लागि ज्यान आहुति दिने ज्ञात अज्ञात शहीदहरुप्रति उच्च सम्मान र श्रद्धान्जलि अर्पण गर्न सैनिक हेलिकप्टरबाट पुष्पबृष्टि तथा बेलुन उडाइने छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटका छात्रछात्राहरुले मार्चपास परेड प्रदर्शन गर्ने छन्।
उपत्यकाको तीनवटै जिल्लाका महानगरपालिका र नगरपालिकाबाट सहभागी विभिन्न जातजाति र समुदायको रहनसहन तथा सांस्कृतिक पहिचान झल्किने भेषभूषा र पोशाक सहितको सांस्कृतिक झाँकीहरु प्रर्दशन गरिने छन्।
सेना, प्रहरी र सशस्त्र प्रहरी ब्यान्डहरुले राष्ट्रिय गीत तथा सङ्गीत र ब्यान्ड बाजाहरु प्रदर्शन गर्ने छन्। नेपाल सरकारले सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन शहीद दिवस मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सोमबार उपत्यकाको तीनवटै जिल्लामा बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो।
त्यस्तैं, विभिन्न देशमा रहेका दूतावास र महावाणिज्य दूतावासहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन सरकारले यसअघि नै निर्देशन दिइसकेको जानकारी गृहमन्त्रालयले दिएको छ।
प्रदेश सरकार तथा स्थानीय निकायहरु (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका)लाई प्रजातन्त्र दिवस भव्य रुपमा मनाउन बृहत् सरसफाई, साहित्यिक गोष्ठीका अतिरिक्त विशेष किसिमका औपचारिक तथा अनौपचारिक कार्यक्रम आयोजना गरी मनाउन निर्देशन दिएको छ।