काठमाडौँ, ६ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम टुंगो लगाउन अन्तिम गृहकार्य थालेका छन्। एकीकरणमा धेरै ढिलाइ भएको भन्दै नेतृत्वको आलोचना बढेपछि लगातार छलफलमा जुटेका उनीहरूले जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूको सूचीसमेत तयार गरिसकेका छन्।
महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलसमेतको परामर्श लिएर शनिबार र आइतबार अध्यक्षद्वयले प्रदेश १, २ र ३ का सबै जिल्लाका मुख्य नेतृत्वको नाम तय गरेका छन्। एक नेताले बाँकी गृहकार्य सचिवालय बैठकमा हुने दाबी गरे । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालय बैठक डाकिएको छ।
एकता सम्बन्धमा बनेको कार्यदलको प्रतिवेदनमा छलफल हुन बाँकी नै छ। सचिवालयमा पहिले छलफल गरेर प्रस्तावलाई अन्तिम रूप दिन दुई अध्यक्षले तयारी गरेको ती नेताको बताए। पूर्वएमाले र पूर्वमाओवादी समूहभित्र असन्तुलन नहोस् भनेर ओली र प्रचण्डले पहिल्यै सचिवालयमा छलफल गर्न चाहेको स्रोतले बतायो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।