नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन वरिष्ठ नेता माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम सोमबार सकिँदैछ ।
असार १८ गते बसेको केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल पक्षलाई देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएका थिए ।
त्यसको अर्को दिन असार १९ गते को बैठकमा ओलीले संसद् विघटनबारे सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने चेतावनी दिएका थिए ।
तर, ओलीको चेतावनी र केन्द्रीय कमिटीको निर्णयपछि पनि नेपाल पक्षले हस्ताक्षर फिर्ता लिने कुनै संकेत अहिलेसम्म गरेको छैन् । यसबीचमा वरिष्ठ नेता माधव नेपाललाई ओली पक्षका नेताले भेटेर हस्ताक्षर फिर्ता गराउन, ओली–ओली नेपाल वार्ता गराउन गरिएका प्रयास सफल हुन सकेका छैनन् ।
यद्यपी, एमाले दोस्रो तहका नेताहरू एकता जोगाउन भन्दै लगातार छलफलमा छन् । आज दिउँसो कुनै चमत्कार नभए ओलीले दिएको अल्टिमेटमसम्ममा हस्ताक्षर फिर्ता नहुने नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।
नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने संकेत गरेका बेला संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाई पनि आज सकिँदैछ । सर्वोच्च स्रोतका अनुसार कम्तीमा यो हप्ताभित्र संसद् विघटनबारे फैसला आउनेछ ।
ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटीको बैठक बस्ने र त्यस बैठकले असाधारण निर्णय गर्ने बताइसकेको बेला अदालतको फैसला कूतो आउँछ र त्यसपछि ओलीले के निर्णय गर्छन्, त्यसका लागि भने प्रतिक्षा गर्नैपर्छ ।