अहिले विश्वभर इन्टरनेटको विस्तार तथा प्रयोग निकै बढेको छ। याेसँगै कम्प्युटरको प्रयोग पनि दिनानुदिन बढ्दै गइरहेको छ। इन्टरनेट प्रविधि आज एक अपरिहार्य पूर्वाधारको रुपमा परिणत भएको छ भने कम्प्युटर मानव जी वनको अभिन्न अंग बन्दै गएको छ।
दैनिक जीवन वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन कम्प्युटर अपरिहार्य साधनकाे रुपमा परिणत भएको छ। कम्प्युटर शिक्षा, व्यापार, मनोरन्जन तथा अनुसन्धानमा व्यापक रुपमा प्रयोग भएको देखिन्छ।
तर कहिले काहिँ यहि सजिलोको माध्यमकै कारण तनाव हुने गरेको छ। कम्प्युरमा बेला–बेलामा लाग्ने भाइरसले गर्दा कम्प्युटर ह्याङ तथा ह्याक हुने अवस्था आउँछ। कम्प्युरमा पेनड्राइभ, मेमोरी कार्ड, डिस्क, फ्लपी जस्ता एक्सटर्नल डिभाइसकाे माध्यमबाट फाइल सार्दा भाइरस भित्रिने सम्भावना हुन्छ। कम्प्युटरसँग जोडिएका मोबाइल फोन तथा डिजिटल क्यामराबाट समेत भाइरस सर्न सक्छन्।
तर धेरैजसाे भाइरस इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड, प्राइभेट सफ्टवेयर कपी, अविश्वस्त साइटकाे प्रयाेग, नेटवर्कबाट डाटा परिवर्तनजस्ता गतिविधिले भाइरस भित्रिने गरेकाे विज्ञहरूले बताउँदै आएका छन्।
इन्टरनेटबाट जथाभावी रूपमा विभिन्न खालका फाइल वा सफ्टवेयरहरु डाउनलोड गर्दा याेसँगै भाइरस तथा मालवेयर पनि डाउनलोड हुने सम्भावना हुन्छ। भाइरसले कम्प्युटरमा भएका फाइल तथा प्रोगामहरूलाई बिगार्नुका साथै कम्प्युटरकाे कार्यशैली, डाटा, प्राइभेसी लगायत यसको पुरै परफरमेन्सलाई नै प्रभावित पारिरहेकाे हुन्छ।
भाइरसले आक्रमण गरेपछि कम्प्युटर स्लाे हुने, आफैँ बन्द हुने, फाइल नदेखिने, अनावश्यक फाइल बनेर मेमोरी फुल हुने, फाइल नखुल्ने अनि कम्प्युटर नै फरम्याट गर्नुपर्ने अवस्था आउँछ। कम्युटर फरम्याट गर्दा हाम्रो महत्वपूर्ण फाईलहरु, भिडियो, फोटो तथा विभिन्न कागजातका इ–कपीसहितका सामग्री नष्ट हुन्छन्।
त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ। भाइरस सरुवा रोग जस्तै हो र याे जस्तो सुकै कम्प्युटरमा पनि लाग्न सक्छ। भाइरस संक्रमण पछिकाे उपचार भन्दा कम्प्युटरमा भाइरस लाग्न नदिने तर्फ सोच्नु नै बुद्धिमानी हुन्छ।
भाइरस लाग्न नदिन के गर्ने ?
कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नाले कम्प्युटरलाई भाइरस भित्रिनबाट बचाउन सकिन्छ। यदि तपाईँको कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर छ भने भाइरस हटाउन सकिने यो एउटा सजिलाे विधि हो। तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि पहिचान गर्न सक्दैन् र यसकाे मुख्य कारण भनेकाे सफ्टवेयर अपडेट नहुनु हाे। त्यसैले कम्प्युटरमा अनिवार्य एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ र यसलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ।
यसका साथै पेनड्राइभ, मेमोरी कार्ड, डिक्स, सिडीजस्ता एक्सटर्नल डिभाइसमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ। इन्टरनेटबाट विभिन्न खालका फाइल वा सफ्टवेयरहरु डाउनलोड गर्दा, अपरिचित ब्यक्तिबाट इमेल प्राप्त हुँदा र कुनै पनि युआरएल सर्च गर्दा त्यसमा भाइरस छ कि छैन भनेर जाकारी पाउन सबैभन्दा पहिले स्क्यान गर्नुपर्छ।
कसरी स्क्यान गर्ने ?
कुनै पनि फाइलमा भाइरस छ कि छैन भनेर थाहा पाउने पहिलो तरिका भनेको भाइरस टोटल (virus total) प्रयाेग गर्नु हाे। यसकाे लागी सबै भन्दा पहिले गूगल सर्च इन्जिनमा जानुहोस् र भाइरस टोटल डटकम सर्च गर्नुहाेस्। यसलाई सर्च गरे पछि Virus Total काे वेबसाइट खुल्ने छ र त्यहाँ तपाईँले तीनवटा विकल्प पाउनु हुनेछ।

पहिलाे अप्शन फाइलकाे, दाेस्राे युआरएल (URL) र अर्को सर्चको रहेकाे छ। फाइल अप्शनबाट तपाईँले कुनै पनि फाइलमा भाइरस छ कि छैन भनेर जाकारी पाउन सक्नुहुने छ। यसकाे लागि सबैभन्दा पहिले भाइरस टोटलको फाइलमा जानुहाेस् र त्यसपछि चुज फाइलमा गएर कम्प्युटरबाट फाइल सेलेक्ट गरी स्क्यान गर्नुहाेस्।
यदि त्यो फाइल पहिले नै स्क्यान भइसकेकाे भए रिएनालाइज (Reanalyzed) मा गएर पुन: स्क्यान गर्न सक्नुहुनेछ। त्यसपछि तपाईँलाई रिपोर्ट जस्तो देखाउँछ। रिपोर्टमा फाइलकाे नाम, डिटेक्शन रेट, नेलाइज डेट जस्ता कुराहरू लेखिएकाे हुन्छ। यदि त्यहाँ डिटेक्सन रेट ०/५०, ०/७९, ०/९० छ भने त्याे जिरो रेसियो हाे। यदि डिटेक्सन रेट जिरो छ भने त्यो फाइलमा भाइरस छैन् भनेर बुझ्निन्छ। यदि त्यो फाइलमा भाइरस छ भने जिरो भन्दा अन्य अंक देखाउछ र फाइलमा कुन भाइरस छ भनेर पनि त्यही बाटै हेर्न सकिन्छ।
यसैगरी तपाईँले सर्च अप्शनबाट कुनै पनि URL,आईपि एड्रेस (IP address), डामेन (Domain), (फाइल ह्यास) file hash पनि सर्च वा स्क्यान बक्समा हालेर स्क्यान गर्न सक्नुहुनेछ।