चिनियाँ प्रविधि कम्पनी साओमीले भारतीय स्मार्टफोन बजारबाट एक हप्तामै २०० कराेड भारू आमदानी गरेकाे छ। कम्पनीले हालै लन्च भएकाे मि ११ लाइट (Mi 11 Lite) स्मार्टफाेन बेचेर २०० करोड कमाएको हाे। यो दावी कम्पनी द्वारा नै गरिएको छ।
साओमी इंडिया प्रमुख मनु कुमार जैनले एक ट्वीट गर्दै मि ११ लाइट स्मार्टफाेन लन्च भएकाे हप्ता भरमै यस प्रकारको बिक्री भएकाे जानकारी दिएका छन्। साओमीले यस अघि पनि एमआई ११ एक्स (Mi 11 X) स्मार्टफाेनकाे विक्रीबाट ४५ दिनमै ३०० कराेड भारू कमाएकाे कम्पनीले जनाएकाे थियाे।
यति मात्र नभइ रेडमी नोट १० (Redmi Note 10) सिरिजकाे स्मार्टफाेनबाट कम्पनीले तिन हजार करोड भारू कमाएको दावी गरेकाे छ। यस महिनाको सुरूवातमा मात्रै करिब २० लाख युनिट्स रेडमी नोट १० सिरिजकाे स्मार्टफाेन बिक्री भइसकेकाे कम्पनीले जानकारी दिएकाे छ।
कम्पनीले भारतमा यस वर्षकाे मार्च महिनामा रेडमी नोट १० सिरिजका स्मार्टफाेनहरू लन्च गरेकाे थियाे। रेडमी नोट १० सिरिज पछि मी ११ सिरिजकाे स्मार्टफाेन लन्च गरेकाे हाे। एमआई ११ सिरिज अन्तर्गत, मी ११ (Mi 11), मी ११ अल्ट्रा (Mi 11 ultra) र मी ११ लाइट (Mi 11 Lite) जस्ता स्मार्टफोनहरू सामेल छन्।
चिनियाँ स्मार्टफोन कम्पनीहरूले केहि वर्षभित्रै भारतीय स्मार्टफोनको बजार कब्जा गरिसकेकोअवस्था छ। भारतको स्मार्टफोन बजारमा आधाभन्दा बढी हिस्सा चिनियाँ कम्पनीहरूको छ। भारतमा तिनीहरूका ४५ करोडभन्दा बढी ग्राहक छन् भने भारतमा साओमीको आठ अर्ब डलर बराबरको बजार छ।
साओमीका स्मार्टफोनलाई 'गरीबको आईफोन' पनि भन्ने गरिन्छ। भारतीय बजारमा त्यसको २८ प्रतिशत हिस्सा छ जुन् सन् २०१६ सम्म त्यो तीन प्रतिशतमा सीमित थियो। भारतमा साओमी पहिलो नम्बरमा स्थापित छ भने दोस्रो नम्बर दक्षिण कोरियाली कम्पनी सामसुङ रहेकाे छ।
स्थापनाको छोटो समयमै चर्चित बनेको साओमीले नेपाल लगायत विश्वका अन्य बिभिन्न राष्ट्रहरूमा पनि आफूलाई स्थापित गरेको छ। विशेषत एन्ड्रोइड फोन उत्पादन गर्ने साओमीले सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन बजारमा उपलब्ध गराएर प्रतिस्पर्धी सामसुङ र एप्पललाई समेत निकै राम्रो टक्कर दिइसकेको छ।