महाधिवेशन नजिकीँदै गर्दा नेपाली काँग्रेसभित्र माहोल तात्तिएको छ। सभापती शेरबहादुर देउवा र उपसभापती विमलेन्द्र निधिविचको टकरावले महाधिवेशनको माहोललाई थप ताप प्रदान गरेको छ।
उसो त निधि देउवाकै विश्वासपात्र थिए। प्रायः सबै मौकामा देउवाकै कित्तामा उभिएका निधिले यसपाली सभापती पदमा आकांक्षा देखाएपछी भने दृष्य फेरिएको छ। हुन त, निधि शुरुमा बुढानिलकण्ठ नै पुगेका थिए, सभापतीमा म लड्छु, प्रस्ताव तपाईले गर्दिनुपर्यो भन्दै। तर, देउवाले यसपाली पनि सभापती पदमा उम्मेदवारी दिने भएपछी निधि बिच्किएका छन्।
देउवाबाट मिलेको जवाफले निधिलाई ‘यु–टर्न’ लिएर शंशाक कोइराला, प्रकाशमान सिंहहरूलाइ नजिक हुन बाध्य बनाईदिएको छ। पछिल्लो समय यिनीहरुविचको भेट निकै बाक्लिएको छ। नयाँ समिकरण बनाएर अघि बढ्ने विषयमा यी तीन काँग्रेस हस्तीहरुवीच चरणवद्द रुपमा छलफल चलिरहेको छ।
यी तीन जनावीचमा कुनै सहमती जुटेको खण्डमा अबका दिनहरु देउवाको लागि अत्यन्त मुश्किल हुने निश्चित छ। विमलेन्द्र, शंशाक र प्रकाशमान एकढिक्का हुँदा देउवाको हातबाट सभापती पद त खुस्किने नै छ, सँगै बलियो सारथी विमलेन्द्रको साथ नहुँदा देउवा थप कमजोर बन्ने छन्।
उता, रामचन्द्र पौडेल, कृष्ण सिटौला, सुजाता कोइरालालगायतका नेताहरु पनि महाधिवेशनको लागि छुट्टै रणनीति बनाइरहेका छन्। यसपटकको महाधिवेशनबाट नेतृत्व हत्याउन उनीहरुले पनि कुनै कसर बाँकि नछोड्ने निश्चित नै छ। पौडेल र सिटौला पनि सभापतीका आकांक्षी हुन्।
देउवाले सभापतीमा उम्मेदवारी दिने बताइसकेका छन्। त्यसको लागि आवश्यक तयारीमा पनि उनी जुटीसके। वर्तमान सभापती भएका नाताले उनको दावेदारी मजबुत छ तर, टिमभित्र देखिएको बिवाद र तुलनात्मक रुपमा असफल कार्यकाल उनको ठुलो चुनौती हो।
राजनीतिक जीवनको उत्तराद्र्धमा पुगिसकेका पौडेल जीवनकालमा कम्तिमा एक पटक भएपनि पार्टीको नेतृत्व गर्न पाए हुन्थ्यो भन्नेमा नै छन्। तै पनि उनी बाहिर भने कुटनितीक शैलीमा प्रस्तुत हुँदै सभापतीमा उम्मेदवारी नदिन सक्ने पनि बताइरहेका छन्।
यता देउवा टिमका विद्रोहीको रुपमा उदाएका छन् निधि। उनले पनि आफुँलाई सभापती पदको उम्मेदवार घोषणा गरिसके। काँग्रेस विभाजनको बेलामा पनि देउवालाई साथ दिएका निधि यसपटकको महाधिवेशनमा सभापती बन्न देउवाले सघाउने आशामा थिए। तर, देउवाको साथ नमिलेपछी उनी आफ्नो दावेदारी बलियो बनाउन विभिन्न विकल्प खोज्दैछन्।
निधिको साथ नपाउने भएपछि देउवाको अवस्था पनि बलियो हुने छैन । मधेश त्यसको पनि २ नं प्रदेशका आठ जिल्ला निधिकोे पकड क्षेत्र हो आठ वटा सभापतिमा एकजना पनि निधिको बिरोधी छैनन। गत महाधिवेशनमा यो शक्ति निधिले देउवाका लागि परिचालन गरेका थिए।
रामचन्द्र पौडेल पक्षमा एक जना सभापति थिएनन। निधि आफै सभापतिको रेसमा निस्केपछि देउवाको यो शक्ति क्षय हुनेछ। नेपाली कांग्रेस भित्रको उतिवेला संस्थापन पक्ष भनेर चिनिने कोइराला खेमा भने निधिलाई कुनै पनि हालतमा देउवको टिमबाट अलग पार्ने रणनीतिमा रहेको छ।
नेपाली कांग्रेसका भेट्रान पत्रकारहरु नीधिलाई सभापति बनाउनु पर्ने भन्दै लविङ्गमा उत्रिएका छन। उनीहरु कम्तीमा पनि निधिलाई देउवाको क्याम्प बाट झिक्ने र कांग्रेसलाई देउवामुक्त बनाउन निधी उपयोगको नीति अवलम्बन गर्न आतुर छन्। निधी सभापती बन्न अहिले शंशाक र प्रकाशमानको सम्पर्कमा छन्।
तर, यी दुबै जना पनि सभापतीका आकांक्षी हुन्। नेपाली काँग्रेसमा ठुलो लिगेशी बनाउन सफल कोइराला परिवारका शंशाक पार्टीमा ‘कोइरालाकाल’ फर्काउने दाउमा छन् भने गणेशमान पुत्र प्रकाशमान पनि पार्टीको विरासत आफ्नै हातमा ल्याउन कम्मर कसेर लागेका छन्।
यता कृष्ण सिटौला र शेखर कोइराला पनि सभापती बन्ने लाइनमै छन्। गिरीजा प्रसाद कोइराला र सुशिल कोइरालाको नजिक बसेर काम गरेका सिटौला यसअघिको महाधिवेशमा पनि उम्मेदवार थिए। शेखर पनि पार्टीको युवा पुस्ताको साथ खोज्दैछन्। गगन थापा, धनराज गुरुङलगायत नेताहरुसँग निरन्तर संवाद गरिरहेका शेखरले आफुँ पार्टीको नेतृत्व निर्वाह गर्न तयार रहेको बताएका छन्।