भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पु¥याएको बताएका छन्। आज शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए।
विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए। उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको छ। उनले भने, “कोभिडका कारण काममा बाधा पुग्दा राष्ट्रिय र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न गाह्रो हुन्छ।”
भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताए। गत ८ गते सर्बाेच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए।
गत पुस ५ मा विघटन भएको संसद् सर्बाेच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए। उनले भने, “संसद्बाट सरकार बन्न नसकेपछि संसद् बिघठन भएर नयाँ निर्वाचनको घोषणा भएको हो।” कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पु¥याएको मन्त्री नेम्वाङले बताए।
सरकारले अहिले सडक, रेल, सिँचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको मन्त्री नेम्वाङले बताए। असल मनशायले काम गर्दा गल्ती नै भए पनि त्यो क्षमायोग्य हुने तर गलत नियतले गरेका काम दण्डनीय हुने उनको भनाइ छ। कर्मचारीले काम गर्दा कुनै गल्ती भए पछि हट्न नहुने उनको भनाइ छ। उहाँले भन्नुभयो, “मेरो बढुवामा पो असर गर्छ कि भन्ने सोचेर काम गर्न पछि हट्नुहुँदैन।”
‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक
मन्त्री नेम्वाङले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्। शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले काठमाडौँ उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताए।
उनका अनुसार निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेका छन्। मन्त्रालयले फुसको छाना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ। मन्त्रालयले हिमाली र पाहाडी जिल्लालाई विभिन्न स्थान शहरीकरण गर्ने पनि कार्यक्षेत्रमा पार्नुपर्नेमा उनको जोड छ।
मेलम्चीको स्थलगत अध्ययन गरिने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाइएको बताए। खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताए।
मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उहाँको जोड छ । अहिलेसम्म सडक, पुललगायत पूर्वाधार बने पनि लामो समयसम्म मन्त्रालय स्रोतलगायत कुरामा अल्झेको मन्त्री नेम्वाङले बताए। ‘लिफ्ट’मार्फत गरिने डिप बोरिङमा आयोजना कसरी सञ्चालन भइरहेको छ भन्ने ‘फलोअप’ हुनुपर्नेमा उनको जोड छ।
अर्थतन्त्रमा कृषिको महत्वपूर्ण योगदान
मन्त्री नेम्वाङले अर्थतन्त्रमा महत्वपूर्ण योगदान कृषि क्षेत्रको रहेकाले सरकारले कृषिलाई उच्च प्राथमकिता दिएको बताएका छन्। कृषि मन्त्रालयमा पदभार पछि आयोजित कार्यक्रममा उनले राष्ट्रिय आकांक्षा र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेकामा जोड दिए।
यो क्षेत्रमा धेरैले रोजगारी पाइरहेकाले बेरोजगारी कम गर्न कृषि क्षेत्रको योगदान रहेको उनले औँल्याए। शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, खानेपानी मन्त्रालयका निमित्त सचिव सुनिल दास र कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले मन्त्रालयको सङ्गठनात्मक संरचना, समस्या, सम्भावना, बजेट कार्यान्वयनको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए।
मन्त्री नेम्वाङले विसं २०७६ मङ्सिरदेखि भौतिक पूर्वाधार मन्त्राललयको जिम्मेवारी सम्हाल्दै आएका थिए। मन्त्री नेम्वाङले आज नै मन्त्रालयका विभिन्न फाइलमा सदर समेत गरेका छन्। शहरी विकास मन्त्रालयको कार्यक्षेत्र अध्ययन गर्नेसम्बन्धी फाइल, कृषि मन्त्रालय पेय पदार्थ गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित गर्नेसम्बन्धी फाइल, खानेपानी मन्त्रालयमा कोभिड–१९ काजसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्।