नेकपा एमालेका सांसद एवम् पुर्वमन्त्री महेश बस्नेतले पाँच जना पुर्व प्रधानमन्त्रीहरु विदेशी चलखेलको संवाहक बनेको आरोप लगाएका छन्। पाँच पुर्व प्रधानमन्त्रीले नेपालमा बैदेशीक शक्तिको चलखेल भएको भन्दै जारी गरेको विज्ञप्तीको खण्डन गर्दै ती पुर्व प्रधानमन्त्रीहरुले विदेशी शक्तिको चलखेल बढाउन धातुको रुपमा भुमिका खेलेको उनले धारणा राखे।
‘उहाँहरुले धातुको काम गरीरहनुभएको छ। करेन्ट लाग्यो भनिरहनुभएको छ, करेन्ट त धातुबाट सर्कुलेसन हुन्छ नी, उहाँहरु धातुको रुपमा प्रयोग हुनुभएको छ,’ पुर्वमन्त्री बस्नेतले भने। पुर्व प्रधानमन्त्रीहरुले नैतिक रुपमा उठाउन नमिल्ने कुरा उठाएको बस्नेतले दावी गरे। ‘हिजोका पाँच जना प्रधानमन्त्रीहरुले जे कुरा उठाउनुभएको छ, त्यो नैतिक रुपमा उहाँहरुलाई उठाउने अधिकार छैन्,’ उनले थपे।
सांसद बस्नेतले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको नक्सा छोपेर दिएको अन्तरवार्तामाथि पनि प्रश्न उठाए। ‘एउटा प्रधानमन्त्रीले त चुच्चे नक्सालाई गम्छाले छोपेर अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुमा अन्तरवार्ता दिनुभयो,’ उनले भने, ‘उहाँहरुको अन्तरराष्ट्रिय भक्ति के हो भनेर त्यहाबाट प्रकट हुन्छ।’ सांसद बस्नेतले पुर्व प्रधानमन्त्रीहरुबारे बोल्दै भने, ‘अन्य कतिपय पुर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा कस्को हितको निमित्त र कुन शक्ति केन्द्रको हितको निमित्त काम गर्नुभएको छ भन्ने असंख्य गम्भिर प्रश्नहरु उठेका छन्।’
पार्टी एकताको बिषयमा बोल्दै पुर्वमन्त्री बस्नेतले माधव कुमार नेपाल–झलनाथ खनाल समुहका धेरै नेताहरु एकताको पक्षमा रहेको दावी गरे। उनले माधवनिकट केहि नेताहरुले पार्टी एकता नचाहेको पनि बताए। ‘भिम रावल, बेदुराम भुषाल, राजेन्द राई, प्रकाश ज्वाला, रामकुमारी झाक्रिलगायतका साथिहरुले कमरेड माधव नेपाललाई जुन खालका सल्लाह दिइरहनुभएको छ, पार्टीको एकताबद्ध अभियानमा उहाँलाई फर्काउन सकिन्न भन्ने तहमा पुर्याउनुभएको छ,’ सांसद बस्नेतले भने, ‘त्यो भन्दा फरक ढङ्गले सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भिम आचार्यलगायतका नेताहरुले पार्टी एकता जोगाउनुपर्छ र ठुलो पङ्गतीलाई पार्टी एकतामा ल्याउने खालको प्रयत्न गरिरहनुभएको छ।’
सांसद बस्नेतले अब बस्ने बैठकले पार्टी एकतालाई नयाँ उचाँईमा पुर्याउने दावी गरे।