नेपाली कांग्रेसका नेताहरुले भदौभित्रै पार्टीको १४ औँ महाधिवेशन हुने बताएका छन्। कांग्रेस जिल्ला सभापतिहरुद्धारा आज यहाँ आयोजित ‘कांग्रेसको आसन्न १४ औँ महाधिवेशन वृहत अन्तसंवाद’ कार्यक्रमका वक्ताहरुले पार्टीले बनाएको कार्यतालिकाअनुसार नै १४ औँ महाधिवेशन सम्पन्न हुने बताएका हुन्।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र निर्वाचन हुन्छ की हुँदैन भनेर बहसमा पुग्नु दुर्भाग्य भएको बताए। “१४ औँ महाधिवेशनबारे पहिल्यै कार्यतालिका बनाएर अगाडि बढेको भए अहिलेको अवस्था आउने थिएन”, उनले भने। वरिष्ठ नेता पौडेलले इतिहास, सिद्धान्त र विचार भएको कांग्रेस अरु दल फुटेमात्र सत्तामा पुग्ने अवस्था आउनु दुःखद भएको बताए।
देशलाई नेतृत्व गर्ने पार्टीका रुपमा कांग्रेसलाई अगाडि बढाउन पार्टीलाई व्यवस्थित बनाउनु जरुरी रहेको नेता पौडेलले बताए। समयमा भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गर्न नसक्दा पार्टी चलायमान हुन नसकेको उनको भनाइ थियो। “पार्टीको चुनाव गर्नुपर्छ, चुनाव वाध्यता हो, जिल्ला जिल्लामार्फत निर्वाचन गरेर महाधिवेशन सम्पन्न गरौँ, समयमा नै क्रियाशिल सदस्यता विवाद टुङ्ग्याउँ”, नेता पौडेलले भने।
कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशन संवैधानिक बाध्यता भएकाले भदौमा नै महाधिवेशन हुने बताए। “केही जिल्लाबाहेक सबै जिल्लाको क्रियाशिल सदस्यता केन्द्रीय कार्यालयमा आइपुगेकाले अब चाँडो क्रियाशिल सदस्यतालाई अन्तिम रुप दिएर महाधिवेशनमा लाग्नुपर्छ”, उनले भने। उपसभापति निधिले साउन ६ गतेदेखि महाधिवेशन प्रारम्भ हुने भएकाले त्यसको तयारीमा जुट्न जिल्ला सभापति र नेताहरुलाई निर्देशन दिए। संविधान र कानुनको पालनामा कांग्रेस गम्भीर रहेको उनको भनाइ थियो।
पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई थप सुधार ल्याउनका लागि १४ औँ महाधिवेशनलाई विशेष महत्वका साथ हेरिएको बताए। “महाधिवेशनलाई निष्पक्ष, धाँधलीरहित बनाउनका लागि सबै नेता कार्यकर्ताको जिम्मेवारी उत्तिकै रहेको छ”, उनले भने। पार्टीभित्र सधै क्रियाशिल सदस्यतामा किन झगडा हुन्छ ? उनले प्रश्न गरे।
पार्टी केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको क्रियाशिल सदस्यता विवाद नभएका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने र विवाद रहेका जिल्लाका सदस्यलाई १५ औँ महाधिवेशनमा भाग लिने गरी टुङ्याउनुपर्ने बताए। पार्टीलाई बचाउनका लागि नेता तथा कार्यकर्ता एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। केन्द्रीय सदस्य प्रदीप गिरिले समयमा पार्टीको १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्ने बताए। पार्टीले आफ्नो नीति, सिद्धान्तलाई परिस्थितीअनुसार नयाँ व्याख्या गर्दै लैजानुपर्ने उनको भनाइ थियो।
केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीभित्रको विधि र विधानलाई नमान्दा पार्टी अहिलेको अवस्थामा आएको बताए। अक्षरशः पार्टीको विधानको पालना गरिएन भने सँधै पार्टी भद्रगोल अवस्थामा पुग्ने उनको भनाइ थियो। एकदुई ठाउँको क्रियाशिल सदस्यता विवादका कारण सिङ्गो पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता थापाले बताए। पूर्वमन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताए।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कम्युनिष्टको विकल्पका रुपमा कांग्रेसलाई उतार्नका लागि समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। पार्टीभित्र विचार, सङ्गठन र नेतृत्व राम्रो हुनुपर्ने उनको भनाइ थियो। वरिष्ठ अधिवक्ताद्धय हरिहर दाहाल र यदुनाथ खनालले संविधानले कुनैपनि राजनीतिक दलको निर्वाचन पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने स्पष्ट व्यवस्था गरेकाले कांग्रेसले तोकिएकै समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। उनीहरुले आगामी महाधिवेशनले संविधानअनुसार पार्टीको विधान बनाउनेबारे गम्भीर छलफल हुनुपर्ने बताएका थिए।
कार्यक्रममा पार्टीका काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, ईलामका सभापति हिमालय कर्माचार्य, धादिङका सभापति रमेशप्रसाद धमला, पूर्व सांसद प्रकाश शर्मा पौडेललगायतले पार्टीलाई चलायमान र बलियो बनाउन तोकिएको समयमा महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए।