वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। प्रदेश सभाको आजको बैठक शुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित सो अभिव्यक्ति फिर्ता लिएका हुन। आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं शुक्रबारको बैठकमा कांग्रेसका सदस्य वैद्यले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।
चौतर्फी विरोधपश्चात् शनिबारको बैठकमा उहाँले पार्टीको निर्देशनानुसार आत्मालोचना गरेका हुन। उनकै पार्टी नेपाली कांग्रेसले पनि अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो। “मैले सभाको रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाइ फिर्ता लिन्छु”, उनले भने।
सदस्य वैद्यले आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको बताए। आफूले नेपालको संविधान, गणतान्त्रिक व्यवस्था र संसदीय मर्यादालाई आत्मसात गरी अघि बढ्ने दृढता व्यक्त गर्दै उनले आफूँले उत्तेजनात्मक अवस्थामा प्रस्तुत भई उक्त अभिव्यक्ति दिएकोमा सबै नेपालीप्रति क्षमायाचना गर्दै फिर्ता लिन्छु भने।
नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सदस्य वैद्यले हिजो व्यक्त गर्नुभएको अमर्यादित अभिव्यक्तिलाई आत्मालोचना गर्दै प्रदेशसभाको बैठकमा फिर्ता लिन निर्देशन दिइएको थियो। सदस्य वैद्यले राखेकाे अभिव्यक्तिलाई विभिन्न राजनीति दल, बुद्धिजिवीलगायत सर्वसाधारणले निन्दा व्यक्त गर्दै फिर्ता लिन आग्रह गरेका थिए। उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति सभाको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।