जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समुह सरकारमा सहभागी हुने लगभग निश्चित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्णविच बालुवाटारमा यस विषयमा छलफल भएको थियो। बिहान १० बजे शुरु भएको बैठक ४ घण्टा चलेर दिउँसो २ बजे सकिएको थियो।
भेटपछी जसपा नेता कर्णले जसपा सरकारमा सहभागी हुने प्रतिकृया दिए। ‘सरकारमा त जाने नै हो, ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसक्नुभएको छ,’ उनले भने, हाम्रो पार्टीमा पनि विवाद छ, त्यसलाई लिएर छलफल पछि भोलिपर्सीमा भन्छौं भनेका छौं।’ बैठकमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको नेता कर्णले जानकारी दिए।
नेता कर्णले मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय गरिने बताए। बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यहरु सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायतको पनि सहभागिता थियो।
सत्तासंघर्षका कारण मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) भित्रको अन्तरसंघर्ष पनि चरम बिन्दुमा पुगिसकेको छ। जसपाको एउटा गुट सत्ताधारी नेकपा एमाले र अर्को गुट विपक्षी गठबन्धनको पक्षमा लाग्दा जसपा फुटको अन्तिम चरणमा पुगिसक्यो। जसपा संघिय परिषदका अध्यक्ष बाबुराम भट्टराईले ‘हात मिलाएर आ–आफ्नो बाटो लागौँ’ भन्नेसम्मको अभिव्यक्ति दिइसकेका छन्। जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतो समुह अलग्गिने तयारी गरीरहेका छन्।