पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने सुदुरश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ। पार्टी निर्णयविपरित सरकारमा सहभागी भएका माधव कुमार नेपाल गुटका ६ मन्त्रीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो। कसैले पनि स्पष्टीकरण नबुझाएपछी पार्टीको प्रदेश कमिटीले कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएको छ।
यसअघि प्रदेशसभा संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्ई पनि साधारण सदस्य नरहनेगरी निष्कासन गर्न सिफारिस गगरिएको थियो। त्यस्तै प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई पनि कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको बताइएको छ। यससँगै सुदूरपश्चिममा ओली पक्षले कारबाही प्रक्रिया अघि बढाएका प्रदेश सांसदको संख्या १० पुगेको छ।