सत्तासंघर्षका कारण मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) भित्रको अन्तरसंघर्ष पनि चरम बिन्दुमा पुगिसकेको छ। जसपाको एउटा गुट सत्ताधारी नेकपा एमाले र अर्को गुट विपक्षी गठबन्धनको पक्षमा लाग्दा जसपा फुटको अन्तिम चरणमा पुगिसक्यो। जसपा संघिय परिषदका अध्यक्ष बाबुराम भट्टराईले ‘हात मिलाएर आ–आफ्नो बाटो लागौँ’ भन्नेसम्मको अभिव्यक्ति दिइसकेका छन्। जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतो समुह अलग्गिने तयारी गरीरहेका छन्।
यसैविच जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। वर्तमान सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न उनीहरू त्यहाँ पुगेको जसपानिकट श्रोतले बताएको छ।
प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको जसपाको यो समुह सरकारमा सहभागी हुने चर्चा पहिल्यैदेखी थियो, त्यसैलाई अन्तिम रुप दिन महन्थ र राजेन्द्र बालुवाटार पुगेको श्रोतले जानकारी दियो। उनका अनुसार ८ मन्त्री र २ राज्यमन्त्रिसहित सरकारमा सहभागी हुने महन्थ पक्षको तयारी छ।
बिवाद उत्कर्षमा पुग्दै गर्दा एक पक्षले अर्को पक्षलाई कारबाहीको धम्कि दिने अवस्था आएपछि संघिय परिषद अध्यक्ष भट्टराई पार्टी अलग हुनुपर्ने निष्कर्षमा पुगेका छन्। ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं! भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ! हात मिलाएर आ–आफ्नो बाटो लागौं! हिडिरहे फेरि भेट हुनेछ!’