दमौली, ५ फागुन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन्। उनले भने, भ्रष्टाचारमा सङ्लग्नलाई उन्मुक्ति हाेइन, कारवाही हुनुपर्छ।
तनहुँको दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेल भन्छन्, भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ।
देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए। वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
उनले संसदमा कांग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्त्वका विषयमा कांग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा राखे।
फरक प्रसङ्गमा नेता पौडेलले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताए। वर्तमान कार्यसमितिलाई म्याद थप्ने अधिकार नभएको भन्दै पौडेलले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए। (रासस)