काठमाडौँ, ५ फागुन – पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युवबाट हटाउन बाध्य पारिएपछि विवेकशील साझा युवा संगठनले यसको विरोध गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै युवा संगठनले सरकारबाट नेपालको संविधानमा भएको सञ्चारको हक कुण्ठित गर्ने काम भएको बताएको छ। यसका साथै राष्ट्रिय कलाकारको पनि अपमान भएको विज्ञप्तिमा उल्लेख छ।
विवेकशील साझा युवा संगठनद्वारा जारी विज्ञप्ति
लोकप्रिय गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत प्रकाशन प्रशारणबाट हटाउन बाध्य पारिएको बिषयमा विवेकशील साझा युवा संगठनको गम्भिर ध्यानाकर्षण भएको छ।
नेपालको संबिधानको धारा १७ को उपधारा २ (क) को बिचार र अभिब्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको विवेकशील साझा युवा संगठनको निश्कर्ष छ।
युवा जोस र सिर्जनात्मकतालाई सही ढंगले सदुपयोग गर्नु पर्नेमा देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेथितिमाथि कटाक्ष गरिएको गीत गाउने गायकलाई आक्रोसपूर्ण शैलीमा धाक-धम्की मिश्रित शब्दहरुको प्रयोग गरी सत्तारूढ कम्युनिस्ट पार्टी निकट देखिने युवा संघ नेपालले आफ्नो फेसबुक पेजमा सन्देश प्रेषित गर्नु अत्यन्तै निन्दनिय छ।
विकृति र विसंगतिका विरुद्ध आम युवालाई नै उद्वेलित गर्नु पर्नेमा देश र नेतृत्व सही बाटोमा हिँडोस् भन्ने भावले आएका आलोचनात्मक अभिव्यक्तिहरुप्रति युवा संघको प्रतिशोधपूर्ण अभिव्यक्ति आउनु युवाहरूलाई देशका प्रमूख पार्टीले कसरी एकोहोर्याएर गलत रूपमा प्रयोग गरिरहेछन् भन्ने कुराको प्रमाण हो।
पछिल्लो समयमा देशमा सुशासन कायम गर्ने राज्यका जिम्मेवार निकायका अधिकारीहरु नै भ्रष्टाचार र कुकृत्यमा लागेका समाचारहरु सार्वजनिक हुनु, सत्तापक्ष र प्रतिपक्षबाट स्पष्ट राजनीतिक प्रतिबद्धता नआउनु र एकपछि अर्को अनियमितताका खबरहरु आउँदा पनि सरकारले त्यसका विरुद्ध स्पष्ट हस्तक्षेपकारी भूमिका नखेल्नु बिडम्बनापूर्ण छ।
विवेकशील साझा युवा संगठन कलाकारहरु राष्ट्रका गहना हुन् र लेख, रचना, श्रब्य, दृश्य सामग्रीले पनि समाज रुपान्तरण हुन सक्छ भन्नेमा बिश्वास गर्दछ। विवेकशील साझा युवा संगठन सम्पुर्ण कलाकारहरुको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदैब उभिने छ।
अब्दुस मिया, संयोजक
विवेकशील साझा युवा संगठन