काठमाडौँ, ५ फागुन – नेकपाको भ्रातृ संगठनका युवा संघको धम्की र दबाबपछि गायक पशुपति शर्माले आफ्नो ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युवबाट हटाएको खुलासा भएको छ।
गत शुक्रबार मात्रै बजारमा ल्याएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सुनेर युवा संघका कार्यकर्ताहरु आक्रोशित बनेका थिए।
युवा संघका मनोनित उपाध्यक्ष किरण पौडेलले सामाजिक सञ्जाल फेशबुक स्टाटसमार्फत गायक शर्मालाई सामाजिक कार्यक्रमहरुमा बहिस्कार गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन्।
उपाध्यक्ष पौडेलको निर्देशनपछि युवा संघका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा यस गीतको विषयमा बहस चलाएर गायक शर्मामाथि खनिएका थिए।
यस प्रकरणका बारेमा युवा संघकी उपध्याक्ष दीलु पन्तले लोकतन्त्रमा व्यङ्ग्यात्मक सचेतना स्वीकार गर्नुपर्ने बताएकी छन्। नेपाली पब्लिकसँगको कुराकानीमा उपाध्यक्ष पन्तले भनिन्, ‘गायक पशुपति शर्माले जुन गीत ल्याउनु भएको थियो, त्यो गीत लोकतन्त्रमा स्वीकार हुनुपर्ने गीत थियो। मैले पनि त्यो गीतको भिडियो हेरेकी हुँ। सरकारप्रति सचेतना भर्ने र गलत क्रियाकलापहरुलाई देखाइदिने काम कलाकारहरुको हो। यो स्वभाविक गीत थियो।
यस गीतका बारेमा यत्रो लफडा मच्चाउनु पर्ने आवश्यक थिएन।’ युवा संघका नेताहरुले नै धम्की दिन थालेपछि गीत हटाउनु पर्ने बाध्यता सिर्जना भयो भन्ने आरोप छ नि ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले भनिन्,‘धम्की कसले दियो ? त्यो त मलाई थाहा भएन। तर लोकतन्त्रमा आलोचना स्वीकार हुनुपर्छ। गलत क्रियाकलापहरुमाथिको व्यङ्ग्यलाई स्वभाविक रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता हो।’
सत्तारुढ दलका नेता कार्यकर्ताहरुले अपमानको रुपमा लिएको उक्त ‘लुट्न सके लुट कान्छा’ बोलको गीतले भनेका प्राय कुराहरु सत्य छन् र स्वभाविक छन्।
युवा संघका उपाध्यक्ष पौडेलले भने जस्तै सामाजिक रुपमा बहिष्कार गर्न आग्रह गर्नुपर्ने खासै कारण देखिँदैन। नेकपाको दुई तिहाईको सरकार बनेपछि मुलुकले व्यहोर्दै आएको भ्रष्टाचार, व्याभिचार, दुराचार, तस्करी जस्ता कुकृत्य समाप्त हुन्छ भन्ने जनताको अपेक्षा थियो। सरकार बनेको एकवर्ष पूरा हुँदासमेत जनताको त्यो अपेक्षा पूरा हुन सकेन। न त सरकार त्यस दिशामा लागेको देखियो।
बरु मुलुकमा यो एक वर्षको अवधिमा भ्रष्टाचार, दुराचार, व्याभिचार, बलात्कार, तस्करी जस्ता जघन्य अपराधले प्रश्रय पाएको अनुभूति जनतामा भएको छ। त्यसैले पनि एउटा कलाकारद्वारा सरकारको असक्षमता उजागर गर्दै गीतमार्फत व्यङग्य गर्दा सरकार र तीनका समर्थकले यो विषयलाई पचाउन सकेनन् र धम्की दिन थाले।
यसरी धम्कीपूर्ण तरिकाले गीत र सर्जकमाथि प्रहार गर्ने अनि सुशासनको पक्ष र भ्रष्टाचारको बिरुद्धमा पनि छौँ भन्ने यो तर्क आफैँमा विरोधाभाषपूर्ण छ। गायक शर्माले गीतमा भ्रष्टाचार र विलाशिताको विरोध गरेका थिए। युवा नेताहरुबाटै यो प्रकारको निषेधका क्रियाकलाप हुनलाई अब नेकपाका युवा नेताहरु पार्टीका अगुवाहरुकै पथमा हिड्न लागेका हुन् कि ? भन्ने आशंका जन्मिएको छ। यदि त्यसो हो भने नेकपाका युवा नेता र कार्यकर्ताबाट भविष्यमा देशले आशा नगरे भयो।
यस्तो छ उपाध्यक्ष पौडेलेको फेशबुक स्टाटस
https://www.facebook.com/kiran.poudel.980/posts/10157225715583243