ईलिमिनेटर राउण्डमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्स आइपिएल–२०२० को फाइनलमा प्रवेश गरेको छ।
प्लेअफमा मुम्बई इन्डियन्ससँग पराजित भएर ईलिमिनेटरमा पुगेको दिल्लीले हैदरावादलाई १७ रनले पराजित गर्दै पहिलोपटक फाइनलको यात्रा तय गरेको हो।

दिल्लीले फाइनलमा आइपिएलको सर्वश्रेष्ठ टिम तथा चार पटकको विजेता मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।
पहिले व्याटिङ गर्दै बनाएको १ सय ८९ रनको योगफल जोगाउन दिल्लीका बलर कागिसो रबाडा र मार्कस स्टोईन्सले उत्कृष्ट बलिङ गरे । रबाडाले ४ ओभरमा २९ रन खर्चिदै ४ विकेट लिए भने स्टोईन्सले ३ ओभरमा २६ रन खर्चदै ३ विकेट लिए ।
१ सय ९० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदैँ १ सय ७२ रनमात्र बनाउन सक्यो । उसको लागि केन विलियम्सनले सर्वाधिक ६७ रन बनाए भने अब्दुल समादले आक्रामक ३३ रनको पारी खेले । यस्तै मनिष पाण्डेले २१, प्रियम गर्गले १७ र रशिद खानले ११ रन बनाए ।
यसअघि दिल्लीको लागि ओपनरद्वय शिखर धवनले सर्वाधिक ७८ र मार्कस स्टोईन्सले ३८ रन बनाएपछि दिल्लीले बिशाल योगफल तयार पारेको थियो । दिल्लीका लागि शिमरोन ह्वाटमेरले आक्रामक ४२ र कप्तान श्रेयस अय्यरले २१ रनको पारी खेलेका थिए । बलिङतर्फ हैदरावादका सन्दिप शर्मा, जेशन होल्डर र रासिद खानले समान एक–एक विकेट लिए । दिल्लीले आफ्नो पारीमा ३ विकेटमात्र गुमाएको थियो ।