नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्ने भएको छ। नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरी बैठकको मिति तय भएको जानकारी दिएका हुन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज १९ गतेका लागि आह्वान गरिएको थियो। तर, पार्टीका केही केन्द्रीय सदस्यहरूलाई कोरोना भाइरसको संक्रमण देखिएपछि बैठक स्थगित गरिएको थियो।
आगामी बैठकमा कांग्रेसका १४औं महाधिवेशनको कार्यतालिका तथा पछिल्लो राजनीतिक कार्यक्रममाथि छलफल हुने छ। यसअघि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए।
तर, फागुनका लागि पारित भएको महाधिवेशनको कार्यतालिका कोरोना प्रकोपका कारण प्रभावित भएको थियो। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मतभेदका कारण पार्टीभित्र विवाद बढेपछि फागुनका लागि महाधिवेशनको मिति तय गरिएको थियो।