काठमाडौँ, ३ फागुन –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाए। उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो। तर, यो एक वर्षमा जनता पुरै निराश भए। देश समृद्ध हुन सकेन, जनतालाई निराश तुल्याएर देश कसरी समृद्ध हुन्छ?’
हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकाले आफूहरुले खबरदारी गर्नुपरेको महतको भनाई थियो। ‘अहिले निष्कर्षमा भन्नुपर्दा प्रधानमन्त्रीले जतिनै तोडमोड गरेर एक वर्षको कामको फेहरिस्त प्रस्तुत गरे पनि यथार्थमा आमजनता निराश छन्,’ महतले भने।
मूल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको महतले दृष्टान्त पेश गरे। उनले भने, ‘अहिले ५० प्रतिशत लगानी घट्यो। कर र बैंकको व्याजदर बढिरहेको छ।’
नेता महतले देशमा संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए। ‘सुशासनको त कुरै नगरौं। सुन काण्ड त्यो अब पृष्ठभूमिमा गइसक्यो। चिनी काण्ड त्यस्तै। वाईडबडी काण्ड अब अख्तियारलाई जिम्मा लगाउने भनियो,’ महतले भने।
परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको उनले बताए। उनले भने, ‘काठमाडौँमा विम्स्टेक शिखर सम्मेलन हुँदा सरकारले भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो। हाम्रो परराष्ट्र नीतिको हालत यस्तो छ।’ एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे।
भेनेजुएला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने, ‘भेनेजुएलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो?, त्यहाँ लाखौँ गुणा मूल्यवृद्धि छ। लाखौँ मान्छेहरु देश छोडेर भागेका छन्। अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउने?’ उनले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौँ विशेषण हालेर गाली गरिएको भन्दै आपत्ति जनाए।
मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको पनि उनले आरोप लगाए। उनले थपे, ‘उता बुढीगण्डकीको कथा पनि त्यस्तै छ।’ महतले भने, ‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला। तर, जनताले समृद्धिको कुनै अनुभूति गर्न पाएका छैनन्।’
सरकारले संसदीय मर्यादालाई नै कुल्चँदै कर्मचारीतन्त्रलाई पुरै पार्टीकरण गरेको पनि महतको आरोप थियो। उनले भने, ‘संवैधानिक निकायलाई सरकारले छायाँमा राखेको छ। दुई तिहाईको तरवार झुण्डाइएको छ।’
प्रेस स्वतन्त्रलाई कुण्ठित गर्न सामाजिक सञ्जाललाई नियन्त्रण तथा निषेध गर्न खोजिएको भन्दै उनले सरकारको आलोचना गरे।
उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को पनि आलोचना गरे। उनले भने, ‘यो बेरोजगार भत्तालाई सरकारले कार्यकर्ता भत्ताको रुपमा रुपान्तरण गर्दैछ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए।