अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार फुटबल खेलाडी लियोनल मेस्सीले आफ्नो करिअरमा कुल मिलाएर ७ सय ४ गोल गरेका छन् ।
उनले ८ सय ६८ पटक खेलेका छन् भने २ सय ९८ पटक आफ्ना साथीलाई गोल गर्नका लागि निर्णायक भूमिका निभाएका छन् । उनको गोल गर्ने अनुपात हर्ने हो भने ०.८१ रहेको छ ।
अहिलेसम्म ७ सय ४ गोलमध्ये ६४ गोल पेनाल्टीबाट गरेका हुन् । उनले करिअरमा ९० पटक पेनाल्टी हानेका छन् । जसमा २६ पटक भने उनको बलले जाली चुमेका छैनन् ।
बार्सिलोनाको लागि ६ सय ३४ र अर्जेन्टिनाको लागि ७० गोल गरेका उनले ५४ पटक ह्याट्रिक गरेका छन् । जसमध्ये ६ पटक देशबाट खेल्ने क्रममा र ४८ पटक बार्सिलोनाबाट खेल्दा ह्याट्रिक गरेका हुन् ।
अर्जेन्टिनामा उनको गोल अनुपात ०ं.५० रहेको छ भने बार्सिलोना ०.८७ रहेको छ । अर्जेन्टिनाबाट ६ पटक ह्याट्रिक गरेका उनले १५ पेनाल्टी हानेका छन् । तर ४ महत्वपूर्ण पेनाल्टी मिस गरेका छन् । त्यस्तै बार्सिलोनामा उनले ७५ पटक पेनाल्टी हानेका छन् । जसमा उनी २२ पटक चुकेका छन् ।
मेस्सीका ह्याट्रिक श्रृंखला
युरोपियन च्याम्पियन्स लिग
क्लब फुटबलमा सबैभन्दा उत्कृष्ट मानिने लिग युरोपियन फुटबल महासंघ (युइएफए) च्याम्पियन्स लिगमा मेस्सीले ८ पटक ह्याट्रिक गरेका छन् । उनले सन् २०१० अप्रिल ४ मा पहिलोपटक च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका हुन् । जसमा आर्सनललाई १–४ को अन्तरले हराउँदै बार्सिलोनाले जित निकालेको थियो ।
त्यस्तै सन् २०११÷१२ मा भिक्टोरिया प्लेजेनसँग भएको खेल तथा सोही वर्ष बायर लिभरकुसेनसँग भएको खेलमा पनि मेस्सीले ह्याट्रिक गरेका थिए । उक्त खेलमा बार्सिलोनाले ७ गोल गर्दा मेस्सीले ५ गोल गरेका थिए ।
सन् २०१३÷१४ मा एजाक्ससँग, २०१४÷१५ एपोइल एफसी, २०१६÷१७ मा सेल्टिकसँग तथा म्यानचेस्टर सिटीसँग भएको खेलमा पनि मेस्सीले ह्याट्रिक गरेका थिए । मेस्सीले पछिल्लो समय च्याम्पियन्स लिग अन्र्तगत सन् २०१८÷१९ मा पीएसभीसँग भएको खेलमा पनि ह्याट्रिक गरेका थिए ।
स्पेनिस लालिगा
मेस्सीले स्पेनिस लालिगाअन्तर्गत भएको खेलमा पहिलोपटक सन् २००७ मार्च १० मा बार्सिलोना र रियल मड्रिडबीच भएको खेलमा ह्याट्रिक गरेका थिए । उनी त्यतिबेला जम्मा १९ वर्षका मात्र थिए ।
९० मिनेटको अवधिमा मेस्सीले १० औं, २७ औं र ४६ औं मिनेटमा गोल गर्दै रियललाई हराएका थिए । लालिगामा उनले ३६ पटक ह्याट्रिक गरेका छन् ।
स्पेनिस लालिगा नै उनले गरेको सबैभन्दा धेरै ह्याट्रिक हो । पछिल्लो समय उनले सन् २०२० फेब्रअरी २२ मा इबर माथि ह्याट्रिक गरेका थिए ।
कोपा डेल रे
मेस्सीले ५४ वटा ह्याट्रिकमध्ये मेस्सीले कोपा डेल रेमा जम्मा ३ ह्याट्रिक गरेका छन् । उनले यसमा पहिलोपटक सन् २००९ जनवरी ६ मा कट्लेटिको माथि तथा अन्तिम सन् २०१६ फेब्रअरी ३ मा भ्यालेन्सिया माथि ह्याट्रिक गरेका थिए ।
स्पेनिस सुपर कप
यो कप अन्तर्गत भएको खेलमा मेस्सीले जम्मा एकपटक मात्र ह्याट्रिक गरेका छन् । सेभिल्लासँग सन् २०१० अगस्ट २१ मा भएको खेलमा उनले गरेको ह्याट्रिक नै सुपर कपको पहिलो र अन्तिम ह्याट्रिक हो ।
देशबाट अन्तराष्ट्रिय ह्याट्रिक
मेस्सीले अर्जेन्टिनाबाट १ सय ३८ पटक खेलेका छन् । जसमा उनले ६ ह्याट्रिक सहित ७० गोल गरेका छन् । उनले सन् २०१२ फेब्रुअरी २९ मा स्वीट्जरल्याण्डसँग भएको खेलमा पहिलो अन्तराष्ट्रिय ह्याट्रिक गरेका थिए । जसमा अर्जेन्टिनाले ३ र स्वीट्जरल्याण्डले १ गोल गरेको थियो ।
सन् २०१२ जुन ९ मा ब्राजिलसँग भएको खेलमा पनि मेस्सीले ह्याट्रिक गरे । उक्त खेलमा अर्जेन्टिनाले ४ र ब्राजिलले ३ गोल गरेको थियो ।
त्यस्तै सन् २०१३ मा ग्वाटेमालासँग र सन् २०१६ जुन १० मा भएको कोपा अमेरिकामा पानामासँग भएको खेलमा पनि मेस्सीले ह्याट्रिक गरेका थिए । जहाँ ग्वाटेमालाले ४ र पानामाले ५ गोल खाएको थियो ।
त्यस्तै सन् २०१७ अक्टोबर १० मा भएको वल्र्ड कप क्वालिफाइङ खेलमा पनि इक्योइडरलाई ३ –० तथा सन् २०१८ मे २९ मा हैटीसँग भएको खेलमा पनि मेस्सीले ह्याट्रिक गरे । यो खेलमा हैटीले ४ गोल खाएको थियो ।