काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार बिहान खेल्दै छन् । ट्रिनिडाड एन्ड टोबेगोमा जारी सिपिएलअन्तर्गत सन्दीप सम्मिलित टोली जमैका तलावाजले चौथो खेलमा गुएना अमेजन वारियर्ससित प्रतिस्पर्धा गर्नेछ । जमैका र वारियर्सबीचको खेल बुधबार बिहान सवा तीन बजे सुरु हुनेछ ।
क्विन्स पार्क ओभलमा हुने उक्त खेलमा जमैका दोस्रो जितको पर्खाइमा हुनेछ । पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो ।
जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो । जमैका ३ खेलमा एक जित र दुई हारका साथ २ अंक जोडेर प्रतियोगिताको अंकतालिकामा चौथो स्थानमा छ भने गुएना चार खेलमा दुईमा जित तथा दुईमा हार बेहोर्दै चार अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ ।
सन्दीपले हालसम्म खेलेका तीन खेलमा चार विकेट लिएका छन् । सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए । यो उनको हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन थियो ।
सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन् । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सिपिएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।