काठमाडौं– युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि नेपाली मिति र समयअनुसार सोमबार बिहान ००ः४५ बजे जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) आपसमा भिड्दै छन् ।
लिगको फाइनल खेल नजिकिँदै गर्दा यतिबेला यी दुई क्लबमध्ये कसले बाजी मार्ला भनेर अनुमान गर्न थालिएको छ ।
लियोनल मेस्सी सेमिफाइनलसम्म पुग्न नसकी र क्रिस्टियानो रोनाल्डो क्वार्टरफाइनलसम्म पुग्न नसकी बाहिरिएपछि फुटबल जगतमा उनीहरूको चर्चा र टीका टिपप्णी सुरु भएको छ ।
मेस्सी र रोनाल्डोको युग सकिँदै
अहिलेको लिगलाई रोचक र थप रौनक बनाउने कारणहरू पनि विविध छन् । च्याम्पियन्स लिगमा आफ्नो दबदबा राख्ने कुनै पनि स्पेनिस क्लबहरू लिगको फाइनलमा छैनन् । १४ वर्षमा पहिलोपटक रोनाल्डो र मेस्सी यस लिगमा सेमिफानलसम्म पुग्न सकेनन् ।
च्याम्पियन्स लिगको इतिहासमा सन् २००५ पछि पहिलोपटक यी हस्तीहरू सेमिफाइनलको मैदानमा नभएका हुन् । कारण– सेमिफाइनलअघिकै खेलमा मेसीको क्लब बार्सिलोना बायर्न म्युनिखसँग र क्रिस्टियानो रोनाल्डोको क्लब युभेन्टस राउड १६ मा लियोनसँग जितेपनि अंकको आधारमा बाहिरियो । बार्सिलोनाले त यसपटकको आफ्नो अन्तिम खेल कहिल्यै बिर्सने नसक्ने गरी २–८ को फराकिलो अन्तरले बायर्नलाई सुम्पियो ।
आआफ्नै दाउ
लिगको फाइनल खेलमा पुग्ने बायर्न र पिएसजी दुवैका लागि जित त आवश्यक छ नै त्योभन्दा बढी क्लबको साख जोगाउनु छ । बायर्न च्याम्पियन्स लिगको फाइनलमा ७ वर्षपछि पुगेको छ । पिएसजी पहिलो पटक फाइनल प्रवेश गरेको हो ।
बायर्न धेरै वर्षपछिको भोक मेटाउन हरसम्भव प्रयास गर्नेछ भने पिएसजी पनि आफूले जुटाएको पहिलो अवसरमै उत्कृष्ट जित निकाल्दै क्लबको इतिहास बनाउन चाहन्छ । यति मात्र होइन, पिएसजी उपाधि जित्दै च्याम्पियन्स लिग जित्ने पहिलो फ्रान्सेली क्लब बन्ने दाउमा छ । पिएसजीले खेलमा आफ्ना अनेकौं खेल कौशल प्रस्तुत गर्नेछ । यसकारण आइतबार हुने फाइनल खेल बडो रोचक र प्रतिस्पर्धात्मक हुने कुरामा दुई मत छैन ।
इतिहास बनाउने होडमा पिएसजी
पिएसजी आरबी लेइपजिगलाई पराजित गर्दै फाइनलमा पुगेको हो । च्याम्पियन्स लिगको इतिहास हेर्ने हो भने उपाधिमाथि धेरैजसो बार्सिलोना, रियल मेड्रिड र बायर्न म्युनिखकै आधिपत्य रहँदै आएको थियो । यसपटक स्पेनका दुई ठूला क्लब मैदानमा नभए पनि बायर्न मैदानमा छ ।
पिएसजीका लागि बायर्नसँग भिड्न त्यति सजिलो भने हुनेछैन । किनकि बायर्न म्युनिख पाँचपटकको च्याम्पियन लिग विजेता बार्सिलोना जस्तो क्लबलाई ८ गोलले हराएको क्लब हो । सन् १९९४–९५ पछि पछिलो च्याम्पियन्स लिगको सेमिफाइनल तथा पहिलोपटक फाइनलसम्मको यात्रा तय गरेको पिएसजीले पनि फाइनल खेललाई पक्कै सजिलोसँग भने लिनेछैन ।
पिएसजी नेयमार, एमबाप्पे, एन्जेल डी मारिया र मार्किन्होस जस्ता स्टार खेलाडीले भरिपूर्ण छ । यसमध्ये नेयमारसँग बार्सिलोनाबाट २०१४–१५ को च्याम्पियन्स लिग जितेको अनुभव छ भने एमबाप्पेसँग सन् २०१८ को विश्वकप जितेको गर्विलो ऐतिहासिक अनुभव छ ।
त्यस्तै, क्लबका अर्का खेलाडी एन्जेल डी मारियासँग पनि रियल म्याड्रिडमा छँदा च्याम्पियन्स लिग जितेको र देशबाट मेस्सी तथा क्लबबाट रोनाल्डोसँग खेलेको अनुभव छ ।
उपाधि हात पार्ने धुनमा बायर्न
बायर्नले सन् २०१३ पछि मात्र पहिलोपटक च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्न सकेको हो । सात वर्षपछि बल्लतल्ल फाइनल पुगेको बायर्न पनि रित्तो हात घर फर्कन चाहँदैन ।
बायर्नको च्याम्पियन्स लिगको इतिहास हेर्ने हो भने यसअघि ५ पटक च्याम्पियन्स लिगको उपाधि उचालीसकेको छ । त्यस्तै ११ पटकसम्म लिगको फाइनलमा पुगेको छ । बायर्न फाइनल खेलमा जित निकाल्दै लिगको उपाधि संख्या बढाउने धुनमा छ ।
७ वर्षअघि फाइनलमा डर्टमन्डसँगको हारको बदला पिएसजीसँग लिने योजनामा छ । आक्रामक खेल खेल्ने बायर्नले लिगमा ४२ गोल गरिसकेको छ ।
पिएसजीको टाउको दुखाइ
पिएसजीका लागि बायर्नका रोवर्ट लेवान्डोस्की, फिलिपे कोउटिन्हो र थोमस मुलर टाउको दुखाइ हुन सक्छन् । किनकि बायर्नका उत्कृट यी खेलाडीहरूलाई रोक्नका लागि पिएसजीलाई त्यति सजिलो भने हुनेछैन ।
रोवर्ट लेवान्डोस्कीले लिगमा १५ गोल गरिसकेका छन् । यस्तै, क्लबमा धेरैजसो अनुभवी भएकाले यस पटकको च्याम्पियन्स लिगको उपाधि बायर्नले नै आफ्नो पोल्टामा पार्ने धेरैको अनुमान छ । पिएसजीले बायर्नलाई मौका दिन्छ कि पाएको अवसर आफैंले उपभोग गर्छ, अब त्यो हेर्न बाँकी छ ।
–एजेन्सीको सहयोगमा