विराटनगर, २ फागुन –नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार ‘गति’ र ‘विधि’बाट विमुख रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले सरकारले नयाँ काममा गति नलिएको र विधिसम्मत ढंगले नचलेको बताए।
सरकारले काम गर्ने मेसो पाउन नसकेको नेता पौडेलको आरोप थियो। ‘प्राथमिकता छुट्टयाएर काम गर्नुपर्ने हो। तर सरकार अहिले प्राथमिकता पहिल्याएर जिम्मेवारी र दायित्व अनुसार अघि बढ्न सकेकै छैन,’ उनले भने।
सञ्चारकर्मीहरुको प्रश्नमा नेता पौडेलले सरकारको गतिविधिबाट जनतामा संघीयताप्रति वितृष्णा आएको जवाफ दिए। उनले संघीयतामा जनताको शासन हुने भएकाले आम जनताले संघीयता थप सबल र व्यवस्थित भएको हेर्न चाहेको विचार व्यक्त गरे। नेता पौडेलले संघीयताप्रति नेपाली जनता निराश हुन थालेको बताउँदै भने, ‘विकल्प दिन नेपाली कांग्रेस तयार छ। कसैले चिन्ता नलिनुस्।’