काठमाडौँ, २ फागुन – राजधानीको रवी भवनस्थित नाथम कलेजमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त कमिटि गर्न गएका विद्यार्थी नेताहरुमाथि आक्रमण भएको छ।
क्रान्तिकारीका केन्द्रीय सचिव डिवि साउद, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं उपत्यका इञ्चार्ज नारायण घर्ती, केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडौँ भूगोल जिल्ला कमिटि उपाध्यक्ष राजकुमार ढकाललगायतका विद्यार्थी नेताहरुमाथि कुटपिट र ढुंगा प्रहार भएको हो।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनद्वारा जारी विज्ञप्ति अनुसार दुर्गादत्त ढकाल नेतृत्वको समूहले विद्यार्थी नेताहरुमाथि आक्रमण गरिएको हो। ‘शिक्षामा व्यवसायीकरण र दलालीकरण गरिरहेकाहरु विद्यार्थी संगठनदेखि डराएर, विद्यार्थीहरु राजनैतिक र वैचारिक रुपमा सुसूचित हुँदा आफ्नो काला कर्तुत बाहिर आउने र व्यवसायमा दख्खल पुग्ने देखेर यस्ता निन्दनिय अपराधिक कार्यमा संलग्नहरुलाई तत्काल कारवाहीको लागि अनेरास्ववियु नेपाल सरकार र प्रहरी समक्ष जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
