काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको मनहराफाँटस्थित निर्माणाधीन घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पुर्याएकाे बताएका छन्।
बुधबार विहान प्रेस विज्ञप्ति निकालेर प्रचण्डले बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले बम विस्फोट गरेको उल्लेख गरेका हुन्। ‘बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ। म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’ नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न पनि प्रचण्डले सरकारसमक्ष माग गरेका छन्। विप्लव समूहले मन्त्री हुँदा बाँस्कोटाले विभिन्न परियोजनामा घुस मागेको र अर्कातिर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारवाहीस्वरूप विष्फोट गरिएकाे बताएकाे छ।