काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले प्राणघातक कोभिड–१९ भाइरसका कारण चीनमा भएको मानवीय क्षतिले नेपाल सरकार, नेपाली जनता र आफूलाई गहिरो दुःख लागेको बताए।
आफ्ना चिनियाँ समकक्षी वाङ छिसानलाई शुक्रबार एक सन्देश पठाउँदै उनले दुःखको यस घडीमा नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट उपराष्ट्रपति वाङमार्फत शोकाकुल परिवारजनमा समवेदना र सहानुभूति प्रकट गरे।
कोभिड–१९ विरुद्ध चीन सरकारले लिएको प्रभावकारी कदमको सरहाना गर्दै त्यसको फैलावट रोक्न भएका प्रयासले क्रमशः सफलता हासिल गरेकामा प्रशन्नता पनि व्यक्त गरे। सन्देशमा उनले भने, “हामी चीन सरकार र त्यहाँका जनताप्रति उक्त रोगविरुद्धको लडाइँमा ऐक्यबद्धता प्रकट गर्दछौँ र यो रोगलाई फैलिन नदिन चीन सरकारले गरेका प्रयासमा शीघ्र सफलता मिल्नेमा विश्वस्त छौँ।”
चीनमा रहेका नेपालीको सुरक्षाका लागि चीन सरकारले गरेका प्रयासप्रति उपराष्ट्रपति पुनले हार्दिक आभार व्यक्त गरे।