एजेन्सी– फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा पेरिस सेन्ट जर्मन (पीएसजी) सानदार जितसहित फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पीएसजीले लियोनलाई ५–१ गाेलले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा ब्राजिली स्टार नेयमार र पाब्लो सारावियाले पनि समान एक एक गोल गरे। घरेलु टोलीका मार्टिन टेररले एक गोल गरे। खेलको ११ औं मिनेटमा मार्टिनको गोलबाट लियोनले अग्रता बनाएको थियो। उनले कार्ल टोको इकम्वीको पासमा गोल गर्न सफल भएका थिए।
तर, लियोनको त्यो अग्रता लामो समय टिकेन। १४औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए। उनले लेभिन कुर्जावाको पासमा गोल गर्न सफल भएका थिए। ६४ औं मिनेटमा लियोन १० खेलाडीमा समेटिएपछि पीएसजीले त्यसको पुरै फाइदा निकाल्न सफल भयो। लियोनका फर्नान्डो मार्कलले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए।

त्यसमा प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा २–१ को अग्रता दिलाए। ७० औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पीएसजीले खेलमा ३–१ को अग्रता बनायो।
८१ औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अघि बढाए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले सोलो गोल गर्दै ह्याट्रिक पुरा गर्दै पीएसजीलाई फाइनलको यात्रामा डाेर्याए। अब पीएसजीले उपाधिका लागि सेन्ट इटिने र रेनिसबीचको विजेतासँग २६ अप्रिलमा खेल्नेछ।