एजेन्सी– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सिंगापुरले हङकङलाई पराजित गरेको छ। थाइल्याण्डको टर्डथाइ क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले हराएको हो।
सिंगापुरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा विकेट ८ गुमाउँदै १ सय ५२ रन मात्र बनायो। हङकङको लागि ज्यामि अतिन्सनले ५० रन बनाउँदा शाहिद वासिफले १७ रनको योगदान दिए।
त्यस्तै किन्चित शाहले १४ रन, इह्शान खानले १५ रन र स्कट एमकेचिनीले १८ रन बनाए। बलिङतर्फ सिंगापुरका अनन्थ कृष्ण, आहन गोपीनाथ र अर्यामान सुनिलले समान २–२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। सिंगापुरको लागि टिम डेभिडले ५८ रनको अर्धशतकीय पारी खेले भने मनप्रित सिंहले ४२ रनक योगदान दिए।
त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३२ रन र सिद्धान्त सिंहले १७ रन बनाए। बलिङतर्फ हङकङका अर्सद मोहम्मदले २ विकेट लिए भने आइजज खान र इह्शान खानले समान एक एक विकेट लिए।
यससँगै नेपालकाे सन् २०२० काे एसिया कपकाे यात्रा समाप्त भएकाे छ। एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटकाे अंक तालिकामा पहिलाे र दाेस्राे हुने टाेलीले एसिया कपकाे अन्तिम छनाेट खेल्न पाउँछ। नेपाल एक खेल अगावै एसिया कपकाे अन्तिम छनाेटबाट बाहिरिएकाे हाे।