एजेन्सी– बायर्न म्युनिखले जर्मन कपको सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार राति जर्मन बुन्डेस लिगा प्रतिद्वन्द्वी साल्केलाई १–० ले पराजित गर्दै बायर्नले अन्तिम चारको यात्रा तय गरेकाे हो।
बायर्नको जितमा एकमात्र निर्णायक गोल जोसुवा किम्मिचले गरेका थिए। उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए। खेलको छैटौं मिनेटमा एलेसान्द्रो स्कुफको प्रहार बाहिरिदा घरेलु टोली साल्केले अग्रता लिने अवसर खेर फालेको थियो।
१२ औं मिनेटमा जोनजोइ केन्नीको प्रहार क्रसबारमा लागेर बाहिरिदा साल्केले पुनः खेलमा अग्रता लिनबाट चुक्यो। १६ औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता लिनबाट चुक्यो।
२० औं मिनेटमा साल्केका कप्तान बर्गटलरले गोल गरेपनि भिएआरको सहायतामा उनी अफसाइड ठहरिए। ४० औं मिनेटमा बायर्नले खेलमा अग्रता लिन सफल भयो। कर्नरबाट आएको बललाई किम्मिचको भली सट गोलमा परिणत भएको थियो। ४४ औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता दोब्बर बनाउनबाट चुक्यो।
खेलभर नै बल पोजेसन राखेको बायर्नले थप गोल भने गर्न सकेन। पहिलो हाफको गोल नै बायर्नलाई सेमिफाइनल पुग्न पर्याप्त बन्यो। साल्केले पछिल्ला चार खेलमा गोल गर्न सकेको छैन।