एजेन्सी– लिभरपुललाई पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले लिभरपुलाई २–० ले पराजित गरेकाे हाे।
चेल्सीको जितमा विलियन र रोज बार्कलीले गोल गरेका थिए। लिभरपुलको यो लगातार दोस्रो हार हो। यसअघि लिभरपुल प्रिमियर लिगमा वाटफोर्डसँग ३–० ले पराजित भएको थियो।
स्टामफोर्ड ब्रिजमा खेलको १३ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। विलियनले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो।
त्यसअघि खेलकाे १२ औं मिनेटमा विलियनको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनलले उत्कृष्ट बचाउ गरेका थिए। १० औं मिनेटमा लिभरपुललले पेनाल्टी अपिल गरेपनि रेफ्रीले खेललाई निरन्तरता दिए।
२२ औं मिनेटमा चेल्सीका गोलरक्षक किपा एरिजाबालागाले तेहोरो बचाउ गर्दै सम्भावित बराबरी टारे। साडियो मानेको पहिलो प्रहार बचाएका किपाले त्यसपछि रिवाउन्डमा डिभोक ओरिगी र कर्टिस जोनको प्रहारलाई बचाए। ३२ औं मिनेटमा चेल्सीका गोलरक्षक किपाले मानेको अर्काे प्रहारलाई उत्कृष्ट बचाउ गरे।
३९ औं मिनेटमा ओगिरी चुक्दा लिभरपुल बराबरीबाट चुक्यो। ६३ औं मिनेटमा मासन माउन्टको फ्रिकिक क्रसबारमा लागेर बाहिरिदा चेल्सीले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो। लगत्तै चेल्सीले अग्रता दोब्बर पार्न सफल भयो। रोज बार्कलीले एक प्रयासमा गोल गर्दै चेल्सीलाई खेलमा २–० ले अघि बढाए।
६७ औं मिनेटमा पेड्रोले वान भर्सेस वानमा गोल गर्न सकेन। उनको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनले बचाए। ७५औं मिनेटमा ओलिभर जिरुरुडको प्रहार क्रस बारमा लागेर बाहिरिदा चेल्सीले खेलमा अग्रता बढाउनेअवसर गुमायो। त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–० ले विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भयो।
अर्काे खेलमा सेफिल्ड युनाइटेडले रिडिङलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। सेफिल्डका डेभिड म्याकगोल्डरिक र बिल्ली सार्पले गोल गरे। रिडिङका जर्ज पुस्कासले गोल गरे। निर्धारित समयको १–१ गोलको बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा सार्पले गोल गर्दै सेफिल्डलाई जित दिलाए।
अर्काे खेलमा न्यु क्यासलले वेस्ट ब्रोमलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको छ। न्यु क्यासलको जितमा मिगुल अल्मिरोनले दुई तथा भ्यालेन्टिनो लजारोले गोल गरे। वेस्टब्रोमका म्याथ्यु फिलिप्स र केन्नेथ जोहोरीले गोल गरेपनि हार टार्न सकेन।