काठमाडौं– डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन्। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालय स्रोतको अनुसार खतिवडाले आजै करिब ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने छन्। राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनयन गर्ने १ सिटमा खतिवडालाई लैजाने कि वामदेव गौतम भन्नेमा नेकपामा विवाद छ। प्रधानमन्त्री ओली खतिवडालाई राष्ट्रियसभामा निरन्तरता दिन चाहन्छन्। राष्ट्रियसभामा कथंकदाचित खतिवडाले निरन्तरता नपाएमा उनी ६ महिनासम्म अर्थमन्त्री हुन पाउनेछन्।