काठमाडौं– एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट अन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेकोे हो।
पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउनेछन्। त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्धको खेलमा जित निकाल्नुको विकल्प छैन। त्यस्तै नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउनका लागि अन्य टोलीको नतिजामा भर पर्नेछ।
यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा पराजय भोगेको छ। नेपाल मलेशियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो। अब नेपालले थाइल्यान्ड र सिङ्गापुर दुवैलाई फराकिलो अन्तरले पराजित गर्नपर्ने हुन्छ।
नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। यता तीन खेल खेलेको थाइल्याण्डले तीनै खेलमा पराजय भोगेको छ। थाइल्यान्डले हङकङ र मलेशियासँग समान आठ विकेट तथा सिङ्गापुरसँग ४३ रनले पराजित भएसगै एशिया कप यात्राबाट बाहिरिसकेको छ। थाइल्याण्ड अङ्कविहीन रहँदै अङ्क तालिकाको पुछरमा छ। रासस