काठमाडौं – दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान विशेष पूजा गरिएको छ। ओलीका परिवारीक सदस्यले उनको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा बिहानै करिव १० मिनेट बिशेष पूजाआजा गरेका हुन्।
सोमबार ओलीका परिवारिक सदस्यले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने इच्छा गरेबमोजिम आज विहानै करिव १० मिनेट बिशेष पूजाआजा गरिएको जनाइएको छ। पशुपतिका मूलभट्ट गणेश भट्टलगायतले ओलीको सुस्वास्थ्य तथा मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित पूजा गरे पनि पशुपती क्षेत्र विकास कोषले भने यसबारे जानकारी नभएको जनाएको छ।
त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गरिएको छ। नागरिक सञ्चाल सप्तरीले पहल गरेर शक्तिपीठमा २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ।