काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ। पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार प्रदेश १ को झापा विर्तामोडमा मंगलबारका लागि राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम तय भएको थियो।
विर्तामोडको सीटी सेन्टरमा मंगलबार हुने प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादल लगायतका नेता जाने कार्यक्रम तय भएको थियो। उक्त कार्यक्रम पनि अब स्थगित हुने भएको छ।
तर बिहान मात्रै नेताहरुले हाललाई कार्यक्रम स्थगित गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएका हुन्। निर्देशनपछि अनुसार झापा जान एयरपोर्ट पुगिसकेका गृहमन्त्री रामबहादुर थापा बादल फर्किएका छन्। वरिष्ठ नेता झलनाथ खनाल भने कार्यक्रमका लागि हिजो नै झापा पुगिसकेका थिए।
नेकपाले यसअगाडि कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, ५ नम्बर प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेलाको आयोजना गरिसकेको थियो। भेला गर्न प्रदेश १ र २ मा मात्र बाँकी थियो।