एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिली युवा स्टार यान कोउटोलाई अनुबन्ध गर्न सफल भएको छ। सिटीले ब्राजिलका यु–१७ विश्वकप विजेता युवा राइट ब्याक यान कोउटोलाई ब्राजिली सिरी ‘बी’ टोली कोरिटिवाबाट ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो।
सिटीले प्रिमियर लिग क्लब आर्सनल र स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर लिभरकुसेनलाई पछि पार्दै यानलाई अनुबन्ध गर्न सफल भएको हो। यससँगै उनी २०२४ सम्म सिटीमा रहनेछ। यान आगमी जुनमा सिटीमा आउनेछ। युरोपमा अन्य देशबाट खेलाडी अनुबन्ध गरेपनि १८ वर्ष पुरा भएपछि मात्रै सरुवा हुन पाउने प्रावधान छ। उनी आगमी जुनमा १८ वर्ष पुरा हुनेछ।
यानकै उच्च प्रदर्शनमा ब्राजिले २०१९ मा घरेलु भुमिमा आयोजना भएको यु–१७ विश्वकप फुटबलको उपाधि जित्न सफल भएको थियो। ब्राजिलले मेक्सिकोलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो। उनले ब्राजिलको यु–१७ टोलीबाट २०१८र१९ मा १३ खेल खेलेका छन्।
यानलाई ब्राजिलका लेजेन्ट राइट ब्याक ड्यानी आल्भेससँग तुलना गरिन थालिएको छ । उनलाई ‘दि न्यु ड्यानी आल्भेस’ भन्न थालिएको छ। आल्भेसले स्पेनिस क्लब बार्सिलोनालाई विभिन्न उपाधि जित्दाका महत्वपुर्ण सदस्य रहेका थिए।
त्यतिबेला पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको आल्भेसले उच्च प्रदर्शन गर्दा हाल म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओला नै प्रशिक्षक रहेका कारण उनको प्रदर्शनमा निखारता आउने अनुमान गरिएको छ।