एजेन्सी– प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाइन्लमा प्रवेश गर्न सफल भएको छ। सोमबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब पोस्र्टसमाउथलाई २–० ले पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भएको हो।
फ्राटन पार्कमा सोमबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस पापस्थाथोपोउलस र इडवार्ड एनकेइटाले गोल गरे। घरेलु टोलीलाई खेल भर नै दवावमा राखेको आर्सनलले गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो। आठौं मिनेटमा इलिस ह्यारीसनले गोलको अवसर खेर फाले।
२४औं मिनेटमा बुकायो साकाको प्रहारलाई पोस्र्टसमाउथका गोलरक्षक एलेक्स वासले बचाए। ३०औं मिनेटमा रेइस नेल्सनको प्रहार बाहिरिदा आसर्नल अग्रता लिनबाट चुक्यो। ४५औं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ५१औं मिनेटमा इडवार्डले गोल गर्दै आर्सनलको जित पक्का गरे। त्यसपछि पनि आर्सनलले केही अवसर खेर फाल्दा थप गोलअन्तरमा जित सफल भएन।
एफए कपको प्रि–क्वाटरफाइनलमा आज राति ३ खेल हुदैछ। प्रिमियर लिग क्लब चेल्सी र लिभरपुलबीचको खेल नेपाली समय अनुसार १ः३० बजे प्रतिस्पर्धा हुदैछ। रिडिङ र सेफिल्ड युनाइटेड तथा वेस्ट ब्रोम तथा न्यु क्यासलबीच प्रतिस्पर्धा हुनेछ। खेलहरु नेपाली समयअनुसार राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ।